×

वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट बितेको आर्थिक वर्ष (आव) २०८०/८१ मा कुल व्यापारको परिमाण घटे पनि राजस्व संकलन भने बढेको देखिएको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आवमा ३ खर्ब २ अर्ब ८८ करोड रुपैयाँबराबरको कुल व्यापार गरेको छ, जुन अघिल्लो आव २०७९/८० को तुलनामा ९ अर्ब रुपैयाँले कम हो। अघिल्लो आवमा ३ खर्ब ११ अर्ब ९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।

सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी सुशील शर्माका अनुसार व्यापार घटे पनि भन्सारको राजस्व संकलन ११ दशमलव ५७ प्रतिशतले बढेको छ। यसमा सहजीकरण र प्रभावकारी व्यवस्थापन मुख्य कारण रहेको उनको भनाइ छ। गत आवमा भन्सारले ४७ अर्ब ३१ करोड रुपैयाँ संकलन गरेको छ, जुन अघिल्लो आवको ४२ अर्ब ४० करोड रुपैयाँ भन्दा धेरै हो।

सुक्खा बन्दरगाह भन्सार गत आवमा राजस्व बढी असुली गर्ने भन्सार कार्यालयको सूचीमा तेस्रो स्थानमा परेको छ। पहिलो स्थानमा वीरगञ्जमै आईसीपी भन्सार र दोस्रोमा भैरहवा रहेका छन् भने चौथो स्थान विराटनगर भन्सारले बनाएको छ। कुनै पनि भन्सारले तोकिएको राजस्वको लक्ष्य भने पूरा गर्न सकेका छैनन्। सुक्खा बन्दरगाह भन्सारले गत आवका लागि ६५ अर्ब ९४ करोड रुपैयाँको लक्ष्य पाएकोमा त्यसको ७१ दशमलव ७५ प्रतिशत मात्र उठाउन सकेको छ।

भन्सार अधिकारीहरूले गत आवमा आर्थिक शिथिलताले अधिकांश वस्तुको आयात नै घटेको बताएका छन्। सुक्खा बन्दरगाह भन्सारबाट औद्योगिक कच्चा पदार्थ र मदिराको आयात उल्लेख्य परिमाणमा हुने गरेको छ।

तथापि, फलाम उद्योगको कच्चापदार्थ आइरन ओर र बिलेटको आयातमा कमी आएको छ। बितेको वर्ष कोइला र लाइटरको आयात भने उल्लेख्य परिमाणले बढेको देखिन्छ। अघिल्लो आवसम्म कोइला वीरगञ्ज भन्सारबाट आउने गरेकोमा गत आवमा सुक्खा बन्दरगाहमै अनलोड हुन थालेपछि कोइला आयातको परिमाण बढेको देखिएको हो। चीनबाट नेपालमा भित्र्याएर अवैध माध्यमबाट भारत निकासी हुने भन्दै भन्सारले लाइटरमा कडाइ गरेको छ र ५० प्रतिशत मूल्यांकन बढाएको छ।

यसरी, कुल व्यापार घटे पनि राजस्व संकलनमा वृद्धि हुनु भन्सारको प्रभावकारी व्यवस्थापन र सहजीकरणको प्रतिफल भएको अधिकारीहरूले बताएका छन्।

Back to top