×

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको क्युरियोसिटी रोभरले मंगल ग्रहमा जमेका सल्फर(गन्धक)का ढिक्का फेला पारेको छ। नासाका वैज्ञानिकहरुका अनुसार मंगल ग्रहमा पहिलोपटक विशुद्ध सल्फर भेटिएको हो । उनीहरुका अनुसार रोभरले हालै मंगल ग्रहको चट्टानमाथि गुड्दै गर्दा पहेंलो रंगको जमेको सल्फरको ढिका भेट्टाएको हो।

रोभरले केही ढिक्का भेट्टाएको ठाउँ पूर्णरुपमा सल्फरले भरिएको वैज्ञानिकहरुको आकलन छ। यसअघि उक्त ग्रहमा सल्फर मिसिएको खनिज भेटिए पनि यति ठूलो परिमाणमा विशुद्ध सल्फर भेटिनु वास्तवमै अद्वितीय भएको उनीहरुको बुभाई छ।

नासाका अनुसार ”सल्फर निकै विशेष परिस्थितिमा मात्र जम्मा हुने गर्दछ र वैज्ञानिकहरु हालसम्म यो पाइएको स्थानको इतिहाससँग साक्षात्कार छैनन्।”

क्युरियोसिटीले गत मे ३० तारिखका दिन मंगल ग्रहको गेदिज भालिज च्यानल नाम गरेको क्षेत्रमा गुड्दै गर्दा एउटा चट्टान फुटाएको थियो जहाँ वरिपरि उस्तै प्रकारका चट्टानहरु देखिएका थिए ।

उक्त च्यानल धेरै समयअघि पानी तथा विभिन्न ढुंगामाटोलगायतका वस्तुहरुको बहावका कारण बनेको आकलन गरिएको छ। क्युरियोसिटीका परियोजना वैज्ञानिक अश्विन वासवदले भने, ”विशुद्ध सल्फरबाट बनेको चट्टानी क्षेत्र भेटिनु मरुभूमिमा हरियाली मैदान भेटिनुसरह हो ।

यो त्यहाँ नहुनुपर्ने कुरा हो, त्यसैले हामीले यसका बारेमा विस्तृत वर्णन गर्नुपर्छ ।” ‘अनौठा र अनपेक्षित कुराहरु पत्ता लाग्ने/लगाउने घटनाक्रमहरुले नै अन्तरीक्ष अन्वेषणलाई यति उत्साहप्रद बनाउँछ’, उनले थपे।  टेक्नोलोजी खबर

Back to top