×

वीरगञ्ज । पर्साको ऐतिहासिक मुख्य धार्मिक पर्यटन स्थल दुधेश्वर महादेव मन्दिर रामभौडी भाडा धाममा साउन महिना भरी चल्ने मेला आजबाट सुरु भएको छ। हरेक चार वर्षमा आयोजना हुने यो मेला विशेष रुपमा श्रावण महिना, माघको बसन्त पञ्चमी, फागुनको महाशिवरात्रि, र बैशाखको त्रयोदशीमा मनाइन्छ।

दुधेश्वर महादेव मन्दिर समिति अध्यक्ष ज्ञनालाल पटेलका अनुसार, मेलामा धार्मिक जन विश्वास बोकेर आफ्ना भाकल पुरा गर्न भक्तजनहरु आउने गर्दछन्। विशेष गरी बारा, पर्सा, रौतहट, चितवन, तथा भारतका विभिन्न स्थानबाट महादेव प्रति आस्था राख्ने भक्तजनहरु मन्दिरमा भेला हुने गरेका छन्।

मेला समिति सदस्य मनोज यादवका अनुसार, मेलाको प्रमुख आकर्षणमा चारकोसे झाडी, जनावरहरुको अवलोकन, देउकी दहबाट जल भर्न पाउने, र जंगलमा हात्ती सफारी लगायतका मनोरम दृश्यहरु रहेका छन्। मेलामा आउने भक्तजनहरुले यी सबै आकर्षणहरु अवलोकन गर्न सक्नेछन्।

यो मेला धार्मिक आस्थाको प्रतीक मात्र नभई पर्यटन प्रवर्द्धनका लागि पनि महत्वपूर्ण मानिएको छ। मेलाले स्थानिय अर्थतन्त्रलाई सुदृढ गर्ने विश्वास गरिएको छ।

Back to top