×

एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तान विरुद्ध ९ विकेटले पराजित भएको छ । प्रतिस्पर्धात्मक लक्ष्य पाएको पाकिस्तानले लक्ष्य १ विकेट गुमाएर पुरा गरेको हो ।

नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा पुरा गर्यो । पाकिस्तानका लागि ओपनर गुल फेरोजाले ३५ बलमा १० चौका सहित सर्वाधिक ५७ रन बनाइन् । यस्तै अर्की ओपनर मुनिबा अली ३४ बलमा ८ चौका सहित ४६ रनमा अविजित रहिन् । अर्कोतर्फ तुबा हसन १ रनमा नटआउट रहिन् ।

दुई जना मिलेर १०५ रनको साझेदारी गरेका थिए । नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।

त्यसअघि दाम्बुलामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्न सफल रह्यो ।

नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३१ रन बनाएर अविजित रहिन् । पूजा महतोले ३२ बलमा ३ चौका नै प्रहार गर्दै २५ रन बनाइन् । छैठौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै कविता र पूजाले नेपाललाई राम्रो स्कोरतर्फ डोहोर्याएका थिए । यस्तै ओपनर सिता राना मगरले ३० बलमा ३ चौका सहित २६ रन जोडिन् ।

नेपालका तीन ब्याटर रन आउट हुन पुग्ने । अनुभवी खेलाडीद्वय सिता राना मगर र रुबिना क्षेत्री रनआउटकै शिकार बने । केही तालमेल मिलेन भने कतै खेलाडीहरु आफै सुस्त देखिए ।

युएई विरुद्धको पछिल्लो खेलमा सानदार प्रदर्शन गरेकी ओपनर सम्झना खड्का आज भने पहिलो ओभरमै आउट भइन् । १ चौका प्रहार गरेकी उनी फतिमा सनाको बलमा म्याच आउट भएकी थिइन् । तीन नम्बरमा क्रिजमा पुगेकी कविता कुँवरले भने राम्रो सुरुवात दिलाएकी थिइन् । तर १३ बलमा ३ चौका सहित १३ रन नै बनाएको अवस्थामा उनलाई सदिया इकबालले पेभेलियण फर्काइन् ।

कप्तान इन्दु वर्माले आज पनि लामो समय क्रिजमा समय बिताउन सकिनन् । उनी दुई बल खेल्दै शून्यमै सदियाकै बलमा बोल्ड भइन् ।

पाँचौं नम्बरमा ब्याटिङ गर्न पुगेकी रुबिना क्षेत्रीले भने सुस्त सुरुवात गरिन् । तीन विकेटको क्षतिमा रहेको नेपाललाई सम्हाल्ने क्रममा उनले १४ बलमा १ चौका प्रहार गर्दै ८ रन बनाइन् । उनी १०औं ओभरमा रनआउट भएकी हुन् ।

सुरुवात देखि इनिङ सम्हालेकी सिता राना मगर पनि रनआउट नै हुन पुगिन् । उनी १४औं ओभरमा दुई रन लिने क्रममा रन और भएकी हुन् । अन्तिम ओभरमा पूजा महतो पनि रनआउट भइन् । बाइमा रन लिने क्रममा कविता जोशीले उनलाई फर्काइदिएपछि उनी रन आउट भएकी थिइन् । कविता र विन्दु रावल नट आउट रहे ।

पाकिस्तानका लागि सादिया इकवालले २ विकेट लिँदा फतिमा सनाले १ विकेट लिन सफल रहिन् ।

पहिलो खेलमा जित हासिल गरेको नेपालको आजको खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुने थियो । तर आज हार बेहोरेपछि नेपालको सम्भावना न्यून भएको छ । १-१ खेल बाँकी रहँदा नेपाल र पाकिस्तानको समान २-२ अंक छ । भारतले २ खेल जितिसकेको छ । युएईले २ खेलमा हार बेहोरेको छ ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले युएई र नेपालले भारतको सामना गर्नेछ । सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । भारतको भने अन्तिम चारमा प्रवेश गर्ने सम्भावना उच्च रहेको छ । हाम्रो खेलकुदबाट साभार । 

Back to top