×

वीरगञ्ज । भारतको राँचीबाट रक्सौल भएर नेपाल आउने आमा छोरा रेलमै कुटिएका छन् । नेपालको त्रिशूली देवी घाट पुस्तैनी घर भई हाल भारत राँचीमा बस्ने संगीता कुमारी प्रधान र उनका छोरा इन्द्रजीत सिंहलाई रेलमै अज्ञात युवकको समूहले कुटपिट र लुटपात गरेको हो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

राँचीबाट हैदराबादको रेलमा चढेर आउँदै गर्दा झाझा भन्ने ठाउँमा रेलमा चढेका ८/१० जना युवकले कुटपिट गरी मोबाइल र नगद तीन हजार रुपैयाँ लुटेर लगेको आमा संगीता कुमारी प्रधानले दुखेसो पोखिन् । नेपाली नागरिक देखेर गालीगलौजसँगै कुटपिट गरेको उनले बताइन् । रेलमा सुरक्षा व्यवस्था नभएको भन्दै उनले आक्रोश पोखिन् । रेलमा सुरक्षाकर्मी नहुनुले लुटिन र कुटिन परेको भन्दै उनले गुनासो गरिन् । 

बरौनीमा आएर जीआरपीलाई गुनासो गर्नका लागि उत्रिदा रेल छुट्छ भनेर नभ्याएपछि रक्सौलमा उत्रिएर गुनासो गरेको उनले बताइन् । उनका पती त्रिभुवन सिंह राँचीको थाना डोरंडामै छन् । कुटपिटबाट आमा र छोरा दुबैलाई चोट लागेको छ । 

रक्सौलमा आएपछि एक जना टिटी एस कुमारले सहयोग गरेको उनले बताइन् । उनकाअनुसार टिटी एस कुमारले एसी क्याबिन (बगही) मा लिएर राखेपछि केही राहत र सुरक्षित महसुस भएको थियो ।

चोट लागेर रक्सौलस्थित अनुमण्डल अस्पतालमा रक्सौल प्रहरीले नै उपचार गराएको रक्सौलका स्थानीय सञ्चारकर्मी मनोज कुमार गुप्ताले यात्राडेलीलाई जानकारी दिए । उनकाअनुसार रक्सौल प्रहरीले जिरो एफआइआर (मुद्दा दर्ता) गरेर झाझा प्रहरीलाई पठाएको छ ।

उपचारपछि वीरगञ्ज फर्किएर वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयमा पुगेर रेलमा भएको असुरक्षासँगै कुटपिट र लुटपातको बारेमा गुनासो गर्ने पिडितको योजना छ । कुटपिट गर्ने समूहका एक जनाको अनुहार भिडियोमा कैद भएको छ । उसैको खोजी गरेर उसकै बयानको आधारमा अरुको पनि पहिचान गरी आवश्यक कारवाही गर्ने रक्सौल प्रहरीले जनाएको छ । 


 

Back to top