×

सफ्टवेयर कम्पनी माइक्रोसफ्ट सर्भरमा आएको समस्या समाधान उन्मुख छ । सेवाहरू विस्तारै सञ्चालन हुँदैछन् ।

विश्वव्यापी सूचना प्रविधिमा आएको खराबीलाई सच्चाइएको क्राउडस्ट्राइकका अधिकारीले जनाएका छन् । कतिपय डिभाइसमा समस्या समाधान भइसकेको छ । केहिमा समाधान हुन बाँकी छ ।

विभिन्न देशमा रद्द भएका हजारौँ उडान गए रातिदेखि सामान्य अवस्थामा फर्किन थालेका छन् ।

खराबी लगतै क्राउडस्ट्राइकका सीईओ जर्ज कुट्र्जले विश्वव्यापीरुपमा देखिएको अवरोधका लागि माफी मागेका छन् । साथै समस्याको पहिचान भइसकेको हुँदा सबै प्रणाली चुस्त दुरुस्त हुन अझै केही समय लाग्ने जानकारी दिएका बीबीसीले जनाएको छ ।

क्राउडस्ट्राइक एक साइबर सुरक्षा प्रविधि कम्पनी हो । साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले सफ्टवेयर अपडेट गरेपछि हिजो दिनभर विश्वव्यापी कम्प्युटर प्रणालीमा ठूलो अवरोध उत्पन्न भएको थियो । यसबाट विश्वभरको उडान, दूरसञ्चार सेवा, बैंक तथा अन्य अनलाइन सेवाहरू समेत प्रभावित भएका थिए ।

क्राउडस्ट्राइक कम्पनीका अधिकांश ग्राहक माइक्रोसफ्टको सर्भर प्रयोगकर्ता छन् । कम्पनीले वितरण गर्ने मुख्य उत्पादनमध्येको एक फाल्कन हो । यो एउटा एन्टिभाइरस हो, जसले कम्प्युटरमा हुनसक्ने सम्भावित साइबर आक्रमणबाट जोगाउँछ ।

कम्पनीले कुनै परीक्षण नै नगरी फाल्कनको नयाँ अपडेट विश्वभर उपलब्ध गराउँदा समस्या आएको आइटी क्षेत्रका विज्ञले बताएका छन् ।

माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा शुक्रबार विश्वभरिका वायुसेवा कम्पनी, मिडियासहितको सेवा प्रभावित छ । तर, यसले नेपालमा भने कुनै असर नपारेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये टर्किस एयरलाइन्सले यो सफ्टवेयर प्रयोग गरिरहेको छ । तर, उसको शुक्रबार र आज शनिबार काठमाडौं उडान छैन ।

अन्य वायुसेवा कम्पनीमा भने माइक्रोसफ्टको सफ्टवेयर प्रयोग नभएका कारण काठमाडौं उडानमा कुनै प्रभाव नपरेको निरौलाले जानकारी दिए ।

नेपालको छिमेकी भारतमा भने धेरै उडान आज रद्ध भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हैदरावाद विमानस्थलमा मात्र ३० उडान रद्ध भएका छन् । जसमा स्पाइस जेट र आकाशा एयरसहितका कम्पनीका उडान छन् । भारतमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत प्रभावित बनेका छन् । सर्भर डाउन हुँदा सबैभन्दा धेरै असर अमेरिका, अस्ट्रेलिया सहितका देशमा परेको छन् ।

Back to top