×

वीरगञ्ज । वीरगञ्ज व्यवस्थित र सफा बन्दै गइरहेको कुरामा कुनै दुई मत छैन । वीरगञ्जलाई सफा, सुन्दर र व्यवस्थीत बनाउने कार्यमा वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह आफै सक्रियपूर्वक लागिरहेका छन् । उनी निर्वाचित भएदेखि नै अत्यन्तै अव्यवस्थित रुपमा रहेको वीरगञ्जको माइस्थान क्षेत्र व्यवस्थित बन्दै गइरहेको छ । माइस्थानमा सवारी साधनको प्रवेशमा रोक लगाउनुका साथै सौन्दर्यकरण गरेको र सो क्षेत्रको सडकमा टाली बिच्छ्याउने कार्यका जनताले पनि सह्राना गरेका छन् । 

तथापी अझै पनि केही यस्ता ठाउँ छन्, जसले गर्दा वीरगञ्ज अव्यवस्थित र अस्तव्यस्त देखिन्छ । वीरगञ्जको माइस्थान मन्दिरदेखि घण्टाघर आउने मिना बजारको सडक सँधै अस्तव्यस्त र अव्यवस्थित हुन्छ । अव्यवस्थित र अतिक्रमणले गर्दा सडकमा टाली बिच्छ्याएर आकर्षक बनाउने वीरगञ्ज महानगरको प्रयास असफल भएको भान हुन्छ ।

सडकमा लगाइएको टालीका कारण हिलो र धुलोको समस्याबाट त्यसभेगबाट आवतजावत गर्ने र किनमेल गर्नेसँगै त्यही ठाउँका व्यापारीहरुले मुक्ती पाएका छन् । तर सवारी साधनको चाप र अत्यास लाग्दो आवाजले मिनाबजारमा किनमेल गर्न जाने उपभोक्ताहरु आजित छन् । 

मिनाबजारको सडकमै सामान राखेर पसलेहरुले बिक्रिवितरण गर्दा पनि सो क्षेत्रमा परिचालित नगरप्रहरी मुकदर्शक बनेर बस्छन् भन्दा पनि नजरअन्दाज गरीरहेका हुन्छन् । नगर प्रहरीले नै त्याहाँका पसलेसँग पैँसा असुली गरीरहेको स्थानीय व्यवसायीले नै बताए । 

यता वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुषालले रकम असुली गरिएको कुरामा कुनै सत्यता नभएको दाबी गरे । उनकाअनुसार डराउनका लागि र आफु पन्छिनका लागि पनि व्यवसायीहरुले रकम दिने गरेको आरोप लगाउने गरेका छन् ।

दुई जना नगर प्रहरी त्याहाँको सडक अतिक्रमण नगराउनका लागि नै सँधै परिचालित हुने गरेको पनि उनले यात्राडेलीसँगको टेलिफोन संवादमा बताए । साथै उनले सो क्षेत्रमा हुने जामको व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडासँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

साँघुरो सडक, त्यसमा पनि विशेष गरी दुई पाङ्ग्रे (मोटरसाइकल, स्कुटर) लगायतको अत्यधिक चापले सास्ती खेपिरहेका नागरिक सडक नै अतिक्रमण गरेर सामान बिक्रि गर्दा झनै कठीनाई झेल्नु परेको तरकारी खरिद गर्न मिनाबजार पुगेका वीरगञ्जका दिपेन्द्र प्रसाद गुप्ताले बताए । 

 

 

Back to top