×

वीरगञ्ज । मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री जनार्दन सिँह क्षेत्रीले कृषि क्षेत्रमा व्यापक रूपान्तरण गर्ने निर्णय गरेका छन्।

बिहीबार साँझ पद तथा गोपनीयताको शपथग्रहणपछि जनकपुरधामस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कार्यभार सम्हालेपछि मन्त्री क्षेत्रीले संघीय तथा स्थानीय सरकारसँग समन्वय गर्दै स्वदेशी तथा वैदेशिक दात्री निकायहरूलाई सहायताका लागि पहल गर्ने प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन्।

मन्त्री क्षेत्रीले प्रचुर सम्भावना रहे पनि सीमित साधनस्रोतका कारण प्रदेशले कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए।

त्यसैले पहिलो निर्णयका रूपमा समन्वय तथा सहायतासम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। यस निर्णयमार्फत कृषि क्षेत्रको व्यावसायीकीकरण, यान्त्रिकीकरण, विविधिकरण, आधुनिकीकरण र औद्योगिकीकरण गर्दै प्रतिस्पर्धी, नाफामूलक एवम् आत्मनिर्भर बनाउने उद्देश्य राखिएको छ।

मधेश प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषिक्षेत्रको ३५.१९ प्रतिशत योगदान रहेको छ। कृषि क्षेत्रको विकास र विस्तार गर्ने यो निर्णयले प्रदेशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

Back to top