×

वीरगञ्ज । मधेश प्रदेशमा लामो समयदेखि चलिरहेको सत्ता विवाद केन्द्रीय सत्ता समीकरण फेरबदलसँगै अन्ततः साम्य भएको छ। सत्ता भागवण्डा अन्तर्गत जनमत पार्टीको अडानका कारण उत्पन्न कलहपछि नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मधेश प्रदेश सरकारमा सहभागी भएका छन्।

मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत लिनका लागि गरेका भद्र सहमतिहरू कार्यान्वयन नगर्दा विवाद उत्पन्न भएको थियो। लामो समयको छलफललाई बेवास्ता गर्दा प्रदेशमा सत्ता समीकरणमै संकट उत्पन्न भएको थियो। अन्ततः जनमत पार्टीले आफ्नो सत्ता जोगाउन हठ त्यागेपछि मन्त्रिमण्डलले पूर्णता पाएको छ।

यसअघि, अर्थ मन्त्रालय नपाउँदा काँग्रेस आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउनको लागि तयारीमा थियो। काँग्रेसले नेकपा एमाले र लोसपासँग छलफल गरिरहेको थियो। तर, बिहीबार काँग्रेस र लोसपा सतीशकुमार सिंह नेतृत्वको सरकारमा सहभागी भएका छन्।

मुख्यमन्त्री सिंहले आफ्नो अडान त्याग्दै विश्वासको मत लिन अघि गरेका भद्र सहमति कार्यान्वयन गर्न तत्परता देखाएपछि काँग्रेसलाई अर्थसहित चारवटा मन्त्रालय दिइएको छ। काँग्रेस संसदीय दलका प्रमुख सचेतक कुमार कान्त झाले जनाए अनुसार जनमतले आफ्नो हठ त्यागेपछि काँग्रेसले मन्त्रीहरूको नाम टुंगो लगाएको छ।

यससँगै काँग्रेससहित लोसपा पनि सरकारमा सहभागी भएका छन्।

Back to top