×

वीरगञ्ज । भारतीय नम्बरका सवारी साधन निःशूल्क दैनिक सुबिधा रसिद कटाएर नेपाल आउन पाउँछन् । नजिकैको बजारमा घुमघाम गरेर राती नाका बन्द हुनु अगावै फर्किनुपर्ने कानुनी प्रावधान छ । नजिकैको बजार भन्नाले वीरगञ्जदेखि गण्डकसम्म जान पाउँछन् । यदि कुनै कारणवश राती नाका बन्द हुनु अघि नफर्किएमा एक दिनको २५ सय रुपैयाँ दण्ड जरिवाना तिर्नुपर्छ ।

यदि ३० दिन भन्दा बढी भएमा उक्त सवारी सिज गर्न सक्ने कानुनी व्यवस्था छ । तर वीरगञ्ज तथा पर्सा बारामा रहेका एक सय भन्दा बढी भारतीय नम्बर प्लेटका चार चक्के सवारी साधनले दैनिक रुपमा निःशूल्क सुबिधा रसिद कटाएर दुरुपयोग गरेको रहस्य उजागर भएको छ ।

निःशूल्क रसिद कटाउनका लागि पनि भारतीय नम्बर प्लेटको सवारी भन्सार कार्यालयमा लिएपछि मात्रै कटाउनुपर्ने व्यवस्था छ । तर घरमै बसीबसी सवारी धनीले निःशूल्क दैनिक सुविधा रसिद प्राप्त गर्छन् । जुन रसिद कटाउन र पठाउनका लागि भन्सार कार्यालयमै कार्यरत कर्मचारीहरुको मिलेमतो रहेको खुलासा भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुखका भान्से राजबीर तामाङ् यो समूहका प्रमुख हुन् । उनीसहित भन्सार कार्यालयको यात्रु शाखामा कार्यरत बलीरामपुरका अरुण, सुब्बा रामचन्द्र (मास्टर), सिकन्दर लगायतका व्यक्तिहरु संलग्न रहेको गोप्य एवम् विश्वसनीय स्रोतले यात्रा डेलीलाई जानकारी दिएको छ ।  
 
गाडी पार्किङ्ग गरिएकै स्थानमा राखिएको हुन्छ । यताबाट उक्त समूहले निःशूल्क दैनिक सुविधाको रसिद सवारी धनीको ह्वाट्सएपमा पठाइदिन्छ । पछि घरघरमै लिएर दिइन्छ । अरुण नामका व्यक्तिले रसिद घरघरमा पु-याउने काम गर्छन् । उनीहरुले एउटा सवारी साधनको हकमा निःशूल्क दैनिक सुविधा रसिद दिएबापत न्यूनतम तीन हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेका छन् ।

वीरगञ्जसहित आसपासका ठाउँमा करिब एक सय भन्दा बढी भारतीय नम्बरका कार जिप छन् । जसको तीन हजारकै दरले हिसाब गर्दा पनि मासिक तीन लाख रुपैयाँ हुन आउँछ । यसले गर्दा सरासर राजस्व चुहावट भइरहेको छ भने राजस्व चुहावट कार्यमा भन्सार प्रमुखले नै भान्सेलाई नै संलग्न गराएको पाइएको छ ।

यता राजबिर तामाङ्ले घरमा पु-याउने विषयको प्रतिकार गरे । कार्यालयमै आएर लिने गरेको उनले स्विकार गरे । कतिपय पत्रकारसँगै नेता तथा व्यवसायीहरुकै गाडी भएकाले गर्दा नचाहेर पनि काम गर्नुपरेको उनले यात्राडेलीसँगको कुराकानीमा बताए । हाकिमको आग्रहमा जस्तोसुकै काम भएपनि जिम्मा दिएपछि गर्नुपर्ने उनको भनाई छ । एकजनाको नगर्दा अर्काे रिसाउने र अर्काेको नगर्दा अर्काे रिसाउने र कसैको नगर्दा दबाब आउने हुँदा बाध्यताले गर्नुपरेको उनले गुनासो सुनाए । यद्यपी उनले नियम विपरित नगएको भने दाबी गरे । 

नेपालकै नागरिकले लिएर राखेका भारतीय नम्बरका चार चक्के सवारी साधनबाट दैनिक ठूलो मात्रामा राजस्व छली भइरहेको छ । दैनिक इन्ट्रि गराउने झन्झट भन्दा नजराना तिर्न सजिलो हुने गरेको एक सवारी धनीले नै नाम नबताउने शर्तमा बताए । यस विषयमा कुरा गर्न प्रयास गर्दा भन्सार कार्यालयका प्रमुख डिल्लीराम पन्तीको फोन उठेन । 

Back to top