×

वीरगञ्ज । नेपाली कांग्रेस मधेश प्रदेशको संसदिय दलको बैठक जनकपुरधामस्थित पार्टीको मधेश प्रदेश कार्यालयमा आज प्रारम्भ भएको छ। बैठकमा अधिकांश सांसदहरूको उपस्थिति रहेको छ।

यस बैठकले मधेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने चर्चा रहेको छ। कांग्रेस मधेश प्रदेशका सभापति तथा संसदिय दलका नेता कृष्ण यादवले अर्थ मन्त्रालयसहित चार मन्त्रालयमा सहमति गरेर सपथ ग्रहणका लागि समय तोकिसकेको अवस्थामा मुख्यमन्त्रीले अन्तिम समयमा आएर अर्थ मन्त्रालय नहुने भन्नु अपमानजनक भएको बताएका छन्।

यादवले एसपी खबरसँगको संक्षिप्त कुराकानीमा भने, "मुख्यमन्त्रीको यो व्यवहार अपमानजनक भएकोले हामीले जस्तोसुकै कदम पनि उठाउन सक्छौं।"

यता, कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सोही विषयमा छलफल गर्न बालुवाटार पुगेका छन्। पहिले प्रधानमन्त्री केपी ओलीसँग कुरा गरेर त्यसपछि कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा छलफल गर्न जाने योजना रहेको बताइएको छ।

Back to top