×

वीरगञ्ज । मधेश प्रदेशबाट वैदेशिक रोजगारीको लागि युएई पुगेका ५४ जना नेपाली कामदार एक महिनाभन्दा बढी समयदेखि बन्धक अवस्थामा रहेका छन्। पीडित कामदार मिठु पासमानका अनुसार, उनीहरूलाई रोजगारीका लागि युएईको टोर्नाडो ग्रुपमा गार्डेनरको रूपमा श्रम सम्झौतापछि काठमाडौंको नयाँ बानेश्वरस्थित ओसो रिक्र्युटिङ एजेन्सी प्रालि म्यानपावरमार्फत पठाइएको थियो।

पासमानका अनुसार, उनीहरूलाई दुबईको हाइल्यान्ड भन्ने ठाउँमा एक महिनादेखि बाहिरबाट चुकुल लगाएर बन्धक बनाइएको छ। बन्धक बनाइएका कामदारहरूलाई खान पनि दिइएको छैन र एकै कोठामा २५ जनाभन्दा बढीलाई राखिएका कारण गर्मीले गुम्सिएर मरिरहेको अवस्था छ। पीडितहरूले सञ्चारकर्मीलाई जानकारी दिएका छन् कि उनीहरू भोक मार्न नसकेर अरूसँग खानेकुरा मागेर खाना खाइरहेका छन्।

बन्धक बनाइएकामध्ये केहीलाई खजुर टिप्ने र जंगलको रेखदेख गर्ने काममा लगाइएको छ। उनीहरूलाई गार्डेनको काम भनेर झुक्याई साउदी अरेबियाको सीमानजिकै रहेको घनघोर जंगलमा पुर्‍याइएको थियो।

पीडित कामदारका परिवारजनले महोत्तरी जिल्ला प्रशासन कार्यालयमा उद्धारका लागि निवेदन दिएका छन्। परिवारजनले दिएको निवेदनमा श्रम सम्झौताअनुसारको कुनै पनि काम नभएको र कोठामा पशुसरह व्यवहार गरिएको उल्लेख छ। पीडित कामदारहरूले फ्री भिजा, फ्री टिकटको प्रलोभनमा पारी लाखौं रूपैयाँ लिएको र अहिले जिम्मा नलिएको आरोप लगाएका छन्।

युएई पुगेका कामदारहरू सकुशल स्वदेश फर्कन पाऊँ भन्दै उद्धारको हात फैलाइरहेका छन्। यस अवस्थामा नेपाल सरकारअन्तर्गत रहेका म्यानपावर कम्पनीहरूले नै श्रमिकको यस्तो दुर्गति गरेपछि अरूको विश्वास गर्ने कि नगर्ने भन्ने चिन्ता व्यक्त गरेका छन्।

बन्धक बनाइएका पीडित कामदारहरूको सूचीमा रुदल साह, कृष्णबहादुर बडही, सूर्यनारायण साह, शंकर पण्डित, अभयकुमार मण्डल, सूर्यमानकुमार मण्डल, धिरजकुमार मण्डल, कुलदीप सादा, उपेन्द्र सादा मुसहर, सिकिन्द्र मण्डल, सत्रोहन ठाकुर, रामकिशोर मण्डल धानुक, शितेशकुमार मण्डल, अभिषेक चौधरी, सतीलाल उराब, वीरकुमार उराब, मिठु पासमान, हरेराम पण्डित, कृष्ण उराब, सुरज पासमान, बिटु पासमान, समीरकुमार मण्डल, लालबाबु मुखिया, सञ्जीब चौधरी, गुरुसरण खतवे, केशवकुमार खतवे, रामकृष्ण महरा, अली सुसेन सेख, शिवकुमार चमार, आलम राइन, मोइन सिकलगर, असरफ सिकलगर, अमितकुमार यादव, सुधीर मण्डल, इन्द्रजितप्रसाद लौन्या, रामकिसन यादव, दीपककुमार मण्डल, दीपेन्द्र यादव, मनोज चमार, सरोज मुसलमान, मुन्ना तेली, कृष्णराम, र रामकुमार राम रहेका छन्।

नेपाल सरकार र सम्बन्धित निकायहरूले शीघ्र उद्धारकार्य गरी ती कामदारहरूको जीवनरक्षाका लागि कदम चाल्नु अत्यन्त आवश्यक छ।

Back to top