×

वीरगञ्ज । चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ का बिशाल आले वीरगञ्ज आउँदा सँधै होटल पुजनमा बस्छन् । होटल पुजनको आतिथ्यता र सेवाले उनलाई यसरी आकर्षण गरेको छ कि, अन्य होटलमा सस्तोमा वा निःशूल्क बस्न पाउँदा समेत पुजन नै उनको रोजाईमा पर्छ । आफ्नो कामका लागि महिनामा एक पटक वीरगञ्ज पुग्ने उनी जस्तै दोहोरिएर आउने अतिथी नै होटल पुजनका नियमित ग्राहक हुन् । होटलका कार्यकारी निर्देशक रन्जेश श्रेष्ठ भन्छन्, ‘दोहोरिएर आउने अतिथी नै हाम्रा सम्पत्ति हुन्।’ औसतमा होटल पुजनले दैनिक २५० देखि तीन सय जना ग्राहकलाई सेवा दिँदै आएको श्रेष्ठको दाबी छ ।

१४ वर्षको यात्रा 
१४ वर्ष अघि २५ वटा कोठाबाट सेवा दिन सुरु गरेको होटल पुजनमा अहिले ४६ वटा कोठा, तीन वटा हल र तीन वटा रेस्टुरेन्टसँगै एक वटा छुट्टै प्राइभेट क्याबिन रहेको छ । समयअनुसार र ग्राहकको आवश्यकताअनुसार होटलको सेवा सुविधालाई परिवर्तन र परिस्कृत गर्दै लगिएको श्रेष्ठले बताए । यात्राडेलीसँगको कुराकानीमा उनले भने, ‘१४ वर्षमा हामीले धेरै फेरबदल गरेका छौँ । सुरुवाती चरणमा हाम्रा कोठाहरु साना थिए, अहिले हामीले कोठालाई स्तरीय र सुविधासम्पन्न बनाएका छौँ। यसका साथै खाना तथा खाजाका परिकार र स्वाद पनि ग्राहकको आवश्यकताअनुसार बदल्दै आएका छौँ।’

७० जनाले पाए प्रत्यक्ष रोजगारी
होटलमा ७० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । वीरगञ्जसहित सर्लाही, हेटौडा, रौतहट, अर्घाखाँची, प्युठान लगायत नेपालका विभिन्न जिल्लाका युवाहरु होटल पुजनमा कार्यरत छन् । वैटर, हाउस किपिङ, कुक, प्लम्बर, इलेक्ट्रिसियन, ग्यास टेक्निसियन, कार्पेन्टर, पेन्टर लगायतले होटल पुजनमा रोजगारी पाएका छन् । 

विदेश छोडेर स्वदेशमै जमेका शेख 
करिब एक दशकभन्दा लामो समयसम्म वैदेशिक रोजगारमा रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ कुम्हाल टोली निवासी ३७ वर्षीय अफ्ताब शेख पछिल्लो ६ वर्षदेखि होटल पुजनमा कार्यरत छन्। साउदी, बहराइन, कतार, युएई लगायतका देशमा बिताएको एक दशकको अनुभव र सीपलाई आफ्नै ठाउँमा सदुपयोग गरिरहेका छन् उनी। आफ्नै घरमा बसेर आफ्नै ठाउँमा काम गर्दाको खुशी उनका शब्दमा भन्दा पनि उनको मुहारमा स्पष्ट देख्न सकिन्थ्यो ।

होटलमा अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा प्रदान गर्ने प्रयास गरिरहेको प्रबन्धक अफ्ताब बताउँछन् । उनका अनुसार पुजनका पाहुना स्वदेशी मात्रै नभएर विदेशी पनि छन्। जहाँ अधिकांश भारतका अतिथी आउँछन् भने फ्रान्स, थाइल्यान्ड, चीनदेखि अमेरिकासम्मका अतिथी आउने गरेको उनले बताए। कुनै कार्यक्रममा सहभागी हुनेदेखि लिएर व्यापार व्यवसायको शिलशिलामा तथा धार्मिक पर्यटनको रुपमा र सीमावर्ती शहर रक्सौलमा किनमेल गर्ने उद्देश्यले अतिथी आउने गरेको उनको अनुभव छ ।

होटल पुजनका कार्यकारी निर्देशक रन्जेश श्रेष्ठ र प्रबन्धक अफ्ताब शेख । 

अतिथीको सन्तुष्टी नै पुजनको मूल मन्त्र
कार्यकारी निर्देशक रन्जेश श्रेष्ठका अनुसार स्वास्थ्य र सरसफाईसँगै नम्रतापूर्वक गरिने सेवाभाव नै होटल पुजनको मूल मन्त्र हो । पुजनमा पूर्ण रुपमा पारिवारीक वातावरणमा बस्न र खान सकिने उनको दाबी छ । वीरगञ्जमा कतिपय होटल खुल्दै र बन्द हुँदै गरेको श्रेष्ठले आफ्नै आँखाले देखेका छन् । तथापि १४ वर्षदेखि निरन्तर रुपमा पुजनले सेवा दिइरहेको श्रेष्ठ बताउँछन् । उनले भने, ‘सुरुवाती चरणमा अतिथीको विश्वास जित्न पक्कै पनि सहज थिएन। तर पनि हामीले निरन्तर रुपमा सञ्चालन गरेकै कारण आज पुजन आफैमा ब्राण्ड बन्न सफल भएको छ ।’

अहिले ठूला लगानी र ठूलो संरचनामा होटल खुल्ने क्रम बढ्दै गएको बताउँदै उनले सोही अनुसार होटल पुजनलाई परिस्कृत गर्दै लगिएको जानकारी गराए । एक पटक आउने अतिथीलाई खुशी बनाउन नसकेमा थुप्रै विकल्प हुने भएकाले सकेसम्म खुशी बनाउनेतर्फ ध्यान दिने गरिएको उनको भनाई छ । त्यसकै लागि होटलमा कार्यरत कर्मचारीलाई समय–समयमा सीप विकास सम्बन्धी तालिम तथा अभिमुखीकरण पनि दिने गरिएको उनले बताए । 

ताजा र तातो परिकारः मीठो स्वाद
होटलमा कर बाहेक २६ सयदेखि सात हजार रुपैयाँसम्मका सुविधासम्पन्न कोठाहरु उपलब्ध छन् । धुम्रपान निषेधित र धुम्रपान गर्ने छुट्टाछुट्टै ठाउँको व्यवस्था छ भने कोठामा सेवा दिनका लागि भान्साबाट छुट्टै सर्भिस इलिभेटर (लिफ्ट) को व्यवस्था गरिएको छ। जसबाट तातो र ताजा खाना तथा खाजाको स्वाद लिन पाउँछन्। शाकाहारी र मांसाहारीको छुट्टाछुट्टै भान्सा रहेको हुँदा निर्धक्क भएर आउन उनले अनुरोध गरे। उनका अनुसार होटलमा आवश्यक पर्ने सागसब्जी, फलफूल, माछा, मासु लगायतका सामग्री दैनिक ताजा ल्याइन्छ।

वीरगञ्ज महानगरपालिकाको अनुगमन टोलीबाट उत्तम श्रेणी समेत प्राप्त भएको उनले जानकारी दिए। हरेक कोठामा डेडिकेटेड इन्टरनेट जडान गरिएको छ। जुन एक जनाले जति प्रयोग गरेपनि अर्काको इन्टरनेटको गतीमा कुनै प्रभाव पर्दैन । सबै कोठामा छुट्टाछुट्टै राउटर राखिएको छ ।

वीरगञ्जको होटल पुजनले आफ्नो विशिष्ट आतिथ्य सत्कार, स्वच्छता, र सुविधासम्पन्न सेवा प्रवाहको माध्यमबाट अतिथिहरूको मन जित्न सफल भएको छ । सुरुवाती कठिनाइहरू पार गर्दै होटल पुजनले आज एक प्रतिष्ठित ब्राण्डको रुपमा आफूलाई स्थापित गरेको छ ।

नियमित रूपमा आफ्नो सेवामा सुधार गर्दै ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिने होटल पुजन अन्य प्रतिस्पर्धी होटलहरू भन्दा अगाडि रहेको छ । अफ्ताब शेख जस्ता अनुभवी कर्मचारीहरूको समर्पण र रन्जेश श्रेष्ठको नेतृत्वमा होटल पुजनले आगामी दिनहरूमा अझै उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास गर्न सकिन्छ । 


 

Back to top