×

बारा । बाराको देवताल गाउँपालिकाका अध्यक्ष उदय प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवको भ्रष्टाचारको नमुना फेला परेको छ। प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले भ्रष्टाचार गर्नमा माहिर रहेकोले प्रायः स्थानीय तहमा मै कार्यरत रहेको पाइन्छ।

गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले आर्थिक वर्ष २०८०/०८१ को अन्तिममा जेष्ठ र आषाढ महिनामा चलानी किताब खाली नै राखेका भेटिएका छन्। चलानी किताब खाली राखी गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले कमिसन उठाउन पछिल्लो मितिमा नै कार्य आदेश दिई भुक्तानी गर्ने गरेको प्रमाणित भएको छ।

वडा नं १ का वडा अध्यक्ष अरुण कुमार सिंहले प्रश्न उठाएका छन् कि पछिल्लो मितिमा कार्य आदेश नदिई भुक्तानी नगर्नु पर्ने भए चलानी किताब किन खाली राखिएको हो। सिंहको उक्त प्रश्नमा दर्ता चलानीमा कार्यरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा खाली छोडिएको बताएका थिए।

वडा अध्यक्ष सिंहले चलानी किताब सहित उक्त कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवसँग चलानी नम्बर किन खाली राखिएको सोध्दा, श्रीवास्तवले सिंहलाई हप्काएका थिए। वडा अध्यक्ष सिंहले गाउँपालिका अध्यक्ष यादवलाई फोन गर्दा पनि उनले फोन रिसिभ नगरेको जानकारी दिएका छन्।

वडा अध्यक्ष सिंहले गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले चलानी किताबमा खाली राखी करोडौंको भ्रष्टाचार गरेको आरोप लगाएका छन्। पुरानो मितिमा कार्य आदेश दिई लाखौंको योजनाहरू कागजमा नै सम्पन्न गरी भुक्तानी गरिएको आरोप समेत लगाएका छन्। गाउँपालिका अध्यक्ष यादव आफुलाई विकास प्रेमी नेताको रूपमा दाबी गर्ने गरेका छन्, तर काम भने भ्रष्टाचारमै लिप्त रहेको छ। चलानी किताब खालि राख्न लगाउनु यसको एक प्रमुख उदाहरण हो।

Back to top