×

बलिउडका किङ खान अर्थात् शाहरुख खान छिट्टै आफ्नी छोरी सुहानासँग नयाँ फिल्ममा देखिँदैछन् । अहिलेसम्म मेकरहरूले फिल्मको नाम गोप्यै राखेका छन् । तर यो फिल्म किङ हुन सक्ने बताइएको छ । यसैबिच अभिनेता अभिषेक बच्चन शाहरुखको फिल्ममा देखिने चर्चा चलेको छ ।

सन् २००० देखि फिल्ममा सक्रिय रूपमा लागेका अभिषेक बच्चनले आफ्नो करियरमा धेरै फिल्म खेले । तर उनले आफ्ना पिता बलिउडका महानायक अमिताभ बच्चनले जस्तो सफलता हात पार्न सकेका छैनन् । उनी कयौँ फिल्ममा नायक बनेका थिए । तर उनले दर्शकको मन जित्न सकेनन् । अब छिट्टै जुनियर बच्चन खलनायकको रूपमा देखिँदैछन् । शाहरुखको आगामी फिल्ममा उनी खलपात्रको भूमिका निर्वाह गर्नेछन् ।

पिपिङ मुनको रिपोर्ट अनुसार अभिषेक बच्चन निर्देशक सुजोय घोष र सिद्धार्थ आनन्दको फिल्म ‘किङ’मा शाहरुख खानको साथमा नेगेटिभ पात्रको रूपमा देखिनेछन् । दुवै कलाकारका फ्यानका लागि यो नयाँ अनुभव हुनेछ । अभिषेकले आफ्नो अभिनयले दर्शकहरूलाई दङ्ग पारिरहन्छन् । हरेक पटक जटिल खालको भूमिकालाई उनले न्याय गरेका छन् । अभिषेकले पूरै खलपात्रको भूमिका निर्वाह गर्न लागेको ‘किङ’ पहिलो व्यावसायिक फिल्म हुनेछ । यस फिल्ममा अभिनयले उनले दर्शकहरूमा फरक छाप छोड्नेमा निर्माताहरू ढुक्क भएको बताइएको छ ।

कस्तो हुनेछ अभिषेकको भूमिका ?

अभिषेकको भूमिकाबारे अहिलेसम्म धेरै जानकारी आएको छैन । तर उनी खतरनाक ग्याङ्स्टरको भूमिकामा देखिन सक्ने बताइएको छ । यस फिल्ममा शाहरुख खानकी छोरी सुहाना खान पनि देखिँदैछिन् । अहिले फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको छ ।

मुकेश अम्बानीको कान्छो छोरा अनन्त र राधिकाको बिहेलगत्तै यो फिल्मको तयारीका लागि शाहरुख लन्डन गएको खबरहरू आइरहेका छन् । निर्माण पक्षले फिल्मलाई २०२५ मा रिलिज गर्ने तयारी गरिरहेका छन् । यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्माण गर्न लागेका हुन् ।

Back to top