×

वीरगञ्ज । वीरगञ्ज  महानगरपालिका कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ६१ करोड ४७ लाख १७ हजार १३१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यस वर्षको राजस्व लक्ष्य भने ९५ करोड तीन लाख २५ हजार रुपैयाँ निर्धारण गरिएको थियो। आर्थिक मन्दीका कारणले लक्ष्यअनुसारको राजस्व सङ्कलनमा कठिनाई भोग्नु परेको महानगरपालिकाले जनाएको छ।

गत आव २०८०/८१ को १० गते बसेको नगरसभाले प्रारम्भिक रूपमा ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर, आर्थिक अवस्थाको विश्लेषण पछि महानगरसभाले गत पुसमा यो लक्ष्यलाई बढाएर ९५ करोड तीन लाख २५ हजार रुपैयाँ पुर्‍याएको थियो। तथापि, असार मसान्तसम्ममा ६१ करोड ४७ लाख १७ हजार मात्र राजस्व सङ्कलन गर्न सफल भएको छ।

राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार, सम्पत्ति करबापत २० करोड ६ लाख ८४ हजार, भूमिकर/मालपोत करबापत ९४ लाख १० हजार, घरबहाल करबापत ११ करोड ७७ लाख ४७ हजार, बहाल बिटौरी करबापत २१ लाख ८१ हजार, साना सवारी साधन करबापत २३ लाख ५७ हजार ५७० रुपैयाँ राजस्व सङ्कलन भएको छ।

अन्य स्रोतहरूमा पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबापत चार करोड २५ लाख ४७ हजार ३७५, विज्ञापन करबापत ३९ लाख ३४ हजार ५२५, व्यवसाय रजिस्टे«शन दस्तुरबापत दुई करोड ७० लाख २८ हजार ४३१, अखेटो पहारमा लाग्ने करबापत तीन करोड ७ लाख ४७ हजार, सरकारी सम्पत्ति बहालबाट प्राप्त आयबापत तीन करोड ५९ लाख ३६ हजार ६६४, रोयल्टीबापत ८२ लाख ८० हजार, निजी धाराबापतको शुल्क एक लाख ३७ हजार, अन्य सेवा शुल्कबापत दुई करोड ९२ लाख ९८ हजार ७२७, अन्य प्रशासनिक सेवा शुल्कबापत ३७ लाख ७६ हजार ३८३, नक्शापास दस्तुरबापत तीन करोड ७२ लाख ८८ हजार, सिफारिश दस्तुरबापत दुई करोड ५९ लाख ६१ हजार, व्यक्तिगत घटना दर्ता दस्तुरबापत ३५ लाख ३७ हजार, नाता प्रमाणित दस्तुरबापत २२ लाख ४५ हजार ३४०, अन्य दस्तुरबापत पाँच लाख ९३ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबापत ६६ लाख ५४ हजार, धरौटी जफतबापत एक करोड ६२ लाख २३ हजार २६५, बेरुजूबापत ६६ लाख ४७ हजार ४३८ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

पछिल्लो आर्थिक वर्षको तुलनामा यो राजस्व चार करोड ३० लाखले बढी भए तापनि लक्ष्य हासिल गर्न सकेन। महानगरपालिकाले विगतका वर्षहरूमा राजस्व लक्ष्यअनुसार उठाउन नसके तापनि चालू आव २०८१/८२ मा पनि राजस्व सङ्कलन लक्ष्य बढाएको छ। तर, यो वर्ष पनि लक्ष्य भेटिनेमा शङ्का व्यक्त गरिएको छ।

Back to top