×

बलिउड अभिनेता अक्षय कुमारको स्टारडम खतरामा परेको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनयता बक्स अफिसमा अक्षयको कयौँ  फिल्म फ्लप वा डिजाष्टर साबित भएका छन् । उनको पछिल्लो फिल्म सरफिरा पनि यो सूचीमा थपिने सङ्केत देखिएको छ ।

सरफिरा शुक्रबार रिलिज भएको थियो । पहिलो सप्ताहन्तमा यस फिल्मले १२ करोड भारु मात्रै कमाउन सक्यो फिल्म हिट होला भन्ने त अब कुनै आशा छैन । फिल्मको लागि ‘फ्लप’को धब्बा बचाउन पनि मुस्किल देखिन्छ ।  

सन् २०२१ मा आएको अक्षयको फिल्म बेल बटम फ्लप भएको थियो । हलहरू खुल्ने बित्तिकै रिलिज भएको यो फिल्मले जम्मा ३० करोड भारु मात्रै कमाउन सक्यो ।

सूर्यवंशीको सफलतापछि आएको अक्षयको अर्को बिग बजेट फिल्म बच्चन पाण्डेले भारतमा खुद ५० करोड भारु मात्रै कमाउन सक्यो । अक्षयले आफ्नो करियर भरमा गरेको एउटा पिरियड ड्रामा सम्राट पृथ्वीराज थियो । यो फिल्मले पनि जम्मा ६८ करोड भारु मात्रै कमाएर फ्लपको सूचिमा गयो ।

सन् २०२२ मै आएको तेस्रो फिल्म रक्षा बन्धनले त झन् ५० करोड भारु पनि कमाउन सकेन । यो फिल्मले जम्मा ४४ करोड भारु कमाउन सक्यो । सोही वर्ष आएको राम सेतु १५० करोड भारुमा बनाइएको थियो । तर यसले बल्ल तल्ल ७१ करोड भारु कमायो ।

सन् २०२३ पनि फ्लप फिल्मबाटै सुरु भयो । अक्षय र इमरान हाशमीको फिल्म सेल्फीले जम्मा १७ करोड भारु कमायो । फिल्म डिजाष्टर साबित भयो । 

गत वर्ष आएको अर्को फिल्म ओएमजी त हिट भयो । तर यो फिल्ममा अक्षयको भन्दा धेरै चर्चा पंकज त्रिपाठीको भयो । अक्षयको लिड रोल रहेको रानीगञ्जले ३४ करोड भारु मात्रै कमाउन सक्यो । यो फिल्म पनि अभिनेताको पछिल्ला फ्लप फिल्मको सूचिमा दरिए ।

यो वर्ष हलमा आएको अक्षयको पहिलो फिल्म बडे मियाँ छोटे मियाँ थियो । ३५० करोड भारुमा बनेको यो मेगाबजेटको फिल्म डिजाष्टर साबित भयो । फिल्मले कनीकुथी ६५ करोड भारु मात्रै कमायो ।यस्तोमा सरफिराले अक्षयको स्टारडम जोगाइदिने आशा  गरिएको थियो । तर यो फिल्मको सुरुआत हेर्दा यो कोभिड यता अक्षयको ९ वौ फ्लप फिल्म बन्ने बाटोमा देखिन्छ । 

Back to top