×

वीरगञ्ज । नेपालको भुक्तानी तथा वित्तीय प्रणालीमा नयाँ आयाम ल्याउने उद्देश्यले देशका चार अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनीहरू इसेवा, खल्ती, आइएमई पे, तथा प्रभु पेले ‘केवाईसी जरुरी छ’ साझा अभियानको थालनी गरेका छन्। यो अभियानले सम्पूर्ण नेपालीमाझ सरल डिजिटल भुक्तानी तथा सहज वित्तीय सेवाहरूको पहुँच पुर्‍याएर नेपाललाई डिजिटल रूपान्तरण गर्न ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, डिजिटल वालेट प्रयोगकर्ताहरूले डिजिटल कारोबार गर्नको लागि केवाईसी प्रमाणीकरण अनिवार्य रहेको छ। यसलाई ध्यानमा राख्दै जनमानसमा केवाईसीको महत्त्वबारे सचेतना फैलाउन यो अत्यन्तै आवश्यक कदम हो। KYC (Know Your Customer) प्रक्रिया डिजिटल वालेट प्रयोगकर्ताहरूको पहिचान प्रमाणीकरण गर्ने एक अत्यावश्यक प्रक्रिया हो। यसले कालो धन शुद्धिकरण, अनलाइन ठगी, क्रिप्टो माइनिंग, तथा अनलाइन बेटिंग जस्ता आपराधिक क्रियाकलापमा डिजिटल वालेटको दुरुपयोग रोक्न महत्त्वपूर्ण भूमिका खेल्छ।

आर्थिक वर्ष २०८१/२०८२ को सुरुवातदेखि सबै डिजिटल प्रयोगकर्ताहरूले आफ्नो केवाईसी प्रमाणीकरण अनिवार्य रुपमा गर्नु पर्ने नियम नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छ। केवाईसी प्रमाणीकरण नभएका डिजिटल वालेटको खाता सञ्चालनमा रोक लगाइने छ र प्रयोगकर्ताहरूको वालेटमा भएको रकम फ्रिज गरिने छ। केवाईसी प्रमाणीकरण गरेपछि मात्र डिजिटल खाता पूर्ण रुपमा सञ्चालनमा आउने छ।

नेपालको डिजिटल रूपान्तरणमा सहयोग पुर्‍याउने यो साझेदारीको बारेमा बोल्दै, नेपालको पहिलो भुक्तानी सेवा कम्पनी इसेवा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले प्रयोगकर्ताहरूलाई डिजिटल ठगीबाट जोगाउनका साथै गैरकानूनी गतिविधिहरूको लागि डिजिटल वालेटको दुरुपयोग रोक्न केवाईसी प्रमाणीकरण अत्यन्तै महत्वपूर्ण रहेको बताए।

खल्तीका सीईओ विनय खड्काले कुनै पनि डिजिटल वालेटबाट भुक्तानी गर्न केवाईसी प्रमाणीकरण अनिवार्य भएको कारण नेपालका प्रमुख डिजिटल वालेटहरुको यो सहकार्य एक कोसे ढुंगा साबित हुने बताएका छन्। आईएमई पेका सीईओ प्रवीण रेग्मीले केवाईसी गर्नु भनेको पारदर्शी वित्तीय लेनदेन र भ्रष्टाचार विरुद्धको पहिलो कदम भएको जानकारी दिए।

प्रभु पेका प्रमुख कार्यकारी अधिकृत बिक्की शाहीले क्यास-लेस कारोबार सहजीकरण गर्नका लागि केवाईसीको महत्वपूर्ण भूमिका रहेको र अनलाइन ठगीबाट ग्राहकहरूलाई बचाउन, साथै जानेर वा अन्जानमा हुने अपराधिक क्रियाकलाप रोक्न पनि केवाईसीको विशेष भूमिका रहने बताए।

Back to top