×

वीरगञ्ज । अर्बिन्द पण्डित नियुक्ती पत्र लिएर आउने आशमा रहेका उनका परिवारलाई बस दुर्घटनाको खबरले स्तब्ध बनाएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फूलबारी टोलका २२ वर्षीय अर्बिन्द नयाँ कामको सुरुवात गर्न नयाँ जोश र ऊर्जाका साथ काठमाण्डौ जाँदै थिए । 

काठमाण्डौको टिचिङ् हस्पिटलबाट ब्याचलर अफ साइन्स (बि.एस.सी.) ईन नर्सिङ्को अध्ययन सकाएका अर्विन्द बिहिवार साँझ वीरगञ्जबाट प्रदेश ०३–००६ ख १५१६ नम्बरको यात्रूबाहक बस एञ्जल डिलक्सको सिट नम्बर ‘बि’ ५ मा बसेर काठमाण्डौका लागि प्रस्थान गरेका थिए । 

बुबा चन्देश्वर पण्डित र आमा मञ्जु देवी आफ्नो जेठो छोरा अर्बिन्द पढाई सकेर पारिवारीक जिम्मेवारी निर्वाह गर्ने आशमा थिए । उनको भाई अनिल र दिदी पूजाले उनीप्रति गर्वको अनुभूति गर्दै उनको सफलताको कामना गरिरहेका थिए । सफलताको कामना गरीरहेका उनीहर अब सकुशल रहेको सुन्न पाइयोस् भन्ने प्रार्थना गरीरहेका छन् । 

सपना र उत्साहले भरिएको मन लिएर, अर्बिन्दको यात्राले काठमाण्डौको दिशा लिँदै थियो । तर शुक्रबार बिहान करिब ३ बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरोले बस त्रिशूली नदीमा बगायो । बस पहिरोले बगाएसँगै बसमा सवार अर्बिन्दसहितका यात्रुहरु बेपत्ता छन् । अहिलेसम्म पनि बस र बसमा सवार यात्रु फेला परेका छैनन् । गोताखोरसहित सुरक्षाकर्मी खोजी कार्यमा परिचालित छन् ।

अर्बिन्द पण्डित भएपनि एञ्जल बसको टिकटमा अर्बिन्द दुवे नाम लेखिएको छ । अर्बिन्दसहित अन्य यात्रु सुरक्षित फेला पर्ने विश्वास गरिएको छ । 


 

Back to top