×

बारा । यातायात व्यवस्था कार्यालय कलैया बारामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलेआम विक्रिवितरण भइरहेको छ। स्रोतका अनुसार लिखित र ट्रायल परीक्षा अनिवार्य उत्तीर्ण भएपछि मात्र लाइसेन्स प्राप्त गर्न सकिने भए पनि कार्यालयकै कर्मचारीहरूको मिलेमतोमा रकमको मोलाहिजा भए पश्चात यसको विक्रिवितरण खुलेआम भइरहेको छ।

कार्यालयमा सहायक शाखा अधिकृत तथा ट्रायल प्रमुख सुशील कर्ण र लिखित प्रमुखको भूमिका रहेका नवाज हुसेनले अनुमति पत्र विक्रिवितरणको ठेक्का नै लिएको पाइएको छ। कर्णले विचौलिया परिचालन गरेर लिखित र ट्रायल फेल भएकाहरूसँग रकम असुल गर्न लगाएर रकम हातमा परेपछि फेल भएकाहरुलाई पनि पास गराएर लाइसेन्स दिने गरेको भेटिएको हो।

अख्तियारले केही समय अघि निगरानी गरेर लाइसेन्स वितरणमा कडाइ गरे पनि, कर्णले आफुहरू सबैलाई मिलाउने भन्दै पुनः रकमको चलखेलमा वितरण खुकुलो बनाएको छ। अख्तियारसँग पनि वार्गेनिङ मिलिसकेकाले उसले समेत ग्रिन सिग्नल दिएको भन्दै अहिले धमाधम सेवाग्राहीसँग रकम असुलेर लाइसेन्स वितरण भइरहेको स्राेतकाे दावी रहेकाे छ। केही समय अघि अख्तियारले कडाइ गरेकाले अहिले मोबाइल मेसेन्जरबाट काम नगरी कागजमा लेखिएको टुक्रामा दर्ता नम्बर लिएर काम गराइदिने गरिएको छ।

कार्यालय समय ५ बजे सकिएपछि कर्णलाई भेट्न रकम बुझाउन पुग्ने विचौलियाहरु भिड लाग्ने गरेको छ। कार्यालय प्रमुख नवाज हुसेन र सहायक शाखा अधिकृत कर्ण दुबै जनाले विचौलियासँग प्रतिमोटरसाईकल १० हजार, कार, जिप, भ्यान १५ हजार, बस ट्रक ४० हजार बुझेपछि जस्तोसुकै फेल भएकाहरुको पनि लाइसेन्स जारी गरिदिने गरेको कार्यालयकै कर्मचारीहरु बताउँछन्। पैसा दिए पछि जस्तो सुकै फेल भएकाहरुले पनि लाइसेन्स पाउने भएपछि, यसका लागि लिने गरेको परीक्षा देखावटी मात्रै बन्न पुगेको छ र केही कर्मचारी र विचौलियाका लागि भने यो अकुत कमाई खाने भाडो बन्न पुगेको छ।

सुशील कर्णलाई सम्पर्क गर्दा, घुसको कारण फोन नउठाएको र लाइसेन्स वितरणमा अनियमितता भइरहेको बारे कार्यालय प्रमुख नवाज हुसेनसँग प्रश्न गर्दा, उनले यस बारेमा आफूलाई जानकारी नरहेको र पैसा दिएर लाइसेन्स वितरण हुन नसक्ने प्रतिकृया दिएका छन्।

Back to top