×

वीरगञ्ज । वीरगञ्जमा भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुरस्थित कादम्बरी एकेडेमीमा कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । 

विद्यालयका प्रधानाध्यापक राजेन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमै अध्ययनरत विद्यार्थीसँगै वीरगञ्जका साहित्यकारहरुले कविता वाचन गरेका थिए । विद्यालयमा आयोजित कविता वाचन कार्यक्रमले विद्यार्थीलाई साहित्यतर्फ आकर्षित गर्नुका साथै कविता लेखनमा प्रेरित गरेको साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारीले बताइन् । सानै उमेरदेखि कवितामा लेखनमा रुची राख्दा पछि गएर राम्रो साहित्यकार बन्न सक्ने उनको संकेत छ । 

उनले भानु जयन्ती विशेष भानुभक्त आचार्यको विषयमा लेखिएको कविता वाचन गरेकी थिइन् । त्यस्तै साहित्यकार प्रमोद पाण्डेयले संस्कृतमा लेखिएको कविता वाचन गर्दै भानुलाई स्मरण गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य अजमत अली अंसारी, साहित्यकार मोतिउर रहमान, साहित्यिक चौतारी नेपाल मधेश प्रदेशका उपाध्यक्ष जय कुमार दनुवार, सचिव सूर्यनारायण वि.क., सदस्य सीता पन्थी, अणु चौरसिया लगायतले कविता वाचन गरेका थिए । साथै विद्यालयमा अध्ययनरत विद्यार्थीले पनि कविता वाचन गरेको विद्यालयका नेपाली विभाग प्रमुख शिवहरि पौडेलले जानकारी दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका सञ्चालक समिति अध्यक्ष सुशिल भट्टराईले विद्यार्थीको साहित्यतर्फको रुचीलाई प्राथमिकता दिई साहित्यकारसमक्ष रचना वाचन गर्ने अवसर प्रदान गरिएको बताए । उनकाअनुसार यसअघि पनि विद्यालयले साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक दिपक तुल्स्यान, विद्यालयका शिक्षक, शिक्षिका, साहित्यकार तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । 

सो अवसरमा विद्यालयमै अध्ययनरत विद्यार्थी मानव शर्मा भानुभक्तको भूमिकामा थिए भने प्रसन्न महतोले घाँसीको भूमिका निर्वाह गरेका थिए । 
 

Back to top