×

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि एक पटक चर्चामा छिन् । भारतको कानुन कार्यान्वयन गराउने निकाय प्रवर्तन निर्देशनालय (ईडी) ले उनलाई सुकेश चन्द्रशेखरसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा बुधवार सोधपुछका लागि बोलाएको हो ।

श्रीलंकाली मूलकी ३८ वर्षीया अभिनेत्रीसँग यसअघि पनि सोधपुछ भइसकेको थियो । यो मामिला फोर्टिस हेल्थकेयरका पूर्व प्रमोटर शिवेन्द्र मोहन सिंहकी पत्नी अदिति सिंह सहित उच्च प्रोफाइलका व्यक्तिहरूबाट करिब २०० करोडको ठगीसँग सम्बन्धित छ ।

ईडीको गम्भीर आरोप

ईडीको आरोप अनुसार धोखाधडीमार्फत कमाएको अवैध धन ज्याकलिनका लागि उपहार किन्न प्रयोग गरिएको छ । सन् २०२२ मा दायर गरिएको आरोप पत्रमा ज्याकलिनलाई चन्द्र शेखरको आपराधिक पृष्ठभूमिबारे थाहा हुँदाहुँदै पनि चन्द्रशेखरले दिएका बहुमूल्य वस्तु, गहना र महङ्गा उपहार लिएको भनेर भनिएको छ ।

यस मामिलामा अहिलेसम्म ज्याकलिनसँग कम्तिमा पाँच पटक सोधपुछ भइसकेको छ । तर, हरेक पटक अभिनेत्रीले आफू निर्दोष भएको र चन्द्रशेखरको कथित आपराधिक गतिविधिबारे आफूलाई जानकारी नभएको बताउँदै आएकी छिन् ।

कामको कुरा गर्नुपर्दा ज्याकलिन छिट्टै फतेह नामको फिल्ममा देखिनेछिन् । यस फिल्ममा उनको साथमा सोनू सुद पनि छन् । यसबाहेक उनी वेलकम टु द जङ्गलमा पनि देखिनेछिन् । फिल्ममा अक्षयकुमार लगायतका कयौँ ठुला स्टारहरू ठुलो पर्दामा एकसाथ देखिँदैछन् ।

Back to top