×

वीरगञ्ज । सुप्रसिद्ध धार्मिक स्थल वीरगञ्जको माइस्थानस्थित गहवामाई मन्दिरको विषयमा बनेको गीत सार्बजनिक भएको छ । गायक तथा संगीतकार सञ्जु अमात्यको शब्द, संगीत तथा आवाजमा सजिएको ‘जय गहवामाई’ बोलको गीत शनिवार एक कार्यक्रमका बीच बिमोचन गरिएको हो।

गहवामाई मन्दिर परिसरमा एक कार्यक्रम गरेर गायक तथा संगीतकार अमात्यसँगै बरिष्ठ संगीतकार गणेश परियारले गीतको बिमोचन गरेका हुन् । आइतवार गहवामाईको दोस्रो रथ यात्राको अवसरलाई लक्षित गर्दै शनिबार गहवामाई रथ यात्रा समिति वीरगञ्जको आयोजनामा गीतको बिमोचन गरिएको हो ।

गीतमार्फत उनले गहवामाई प्रतिको आस्था र यसको धार्मिक महत्वलाई चित्रण गरेका छन् । गीत बिमोचन कार्यक्रमका अवसरमा बरिष्ठ पत्रकार राजु श्रेष्ठले गहवामाई मन्दिरलाई गीतमार्फत चिनाउने अमात्यको प्रयासको प्रसंशा गरे । वीरगञ्जका धार्मिक तथा प्राकृतिक एवम् ऐतिहासिक स्थलहरुको बारेमा संगीतमार्फत पर्यटन प्रबद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । 

वीरगञ्जको गहवामै जन्मिएर वीरगञ्जमै हुर्किएका गायक अमात्य राष्ट्र व्यापी रुपमा परिचित गायक हुन् । उनले वीरगञ्जलाई गीत संगीतमार्फत प्रचारप्रसार गर्दै आएका छन् । वीरगञ्जको शंकराचार्य गेट, घण्टाघर, भिस्वा डाँडा, गहवामाई मन्दिर, घडिअर्वा पोखरी लगायतका स्थानलाई समेटेर ‘मेलामा घुमाउँछु आइसक्रिम खुवाउँछु’ बोलको अमात्यकै गीत पनि बहुचर्चित छ । नेपाली चलचित्र ‘अग्नि ज्वाला’ चलचित्रमा समावेश गरिएको उक्त गीतले वीरगञ्जलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

म्युजिक सिटी स्टुडियोमा रेकर्ड भएको ‘जय गहवामाई’ गीतको एरेञ्ज राजिब शाहले गरेका हुन् भने प्रकाश मान श्रेष्ठले रेकर्ड गरेका हुन् । अहिले अडियो मात्रै सार्बजनिक भएको गीतको भिडियो पनि छिटै निर्माण गरेर सार्बजनिक गर्ने अमात्यले यात्राडेलीसँगको संवादमा भने । 

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जयप्रकाश अग्रवाल, समाजसेवी एवम् नेता प्रकाश उपाध्याय, धार्मिक अभियानता सन्तोष पटेल, गहवामाई मन्दिर सञ्चालक समितिका पदाधिकारी, रथयात्रा समितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सरन गुप्ताले गरेका थिए । 

गीत सुन्न यहाँ क्लिक गर्नुहोस् ।

Back to top