×

वीरगञ्ज। देशका विभिन्न भागहरूमा अविरल वर्षाका कारण बाढीपहिरोको समस्या उत्पन्न भएको छ, जसले विभिन्न सडकहरू अवरुद्ध बनाएका छन्। लगातारको वर्षाका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। विशेषगरी तराई क्षेत्रमा बाढीका कारण बस्तीहरू डुबानमा परेका छन्।

शुक्रबार रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरूको सडकमा पानी जमेको छ। महानगरपालिकाको छपकैया, बजार छपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायतका स्थानहरू डुबानमा परेका छन्। जमेको पानीले सडकमा मात्र नभई स्थानीयका घरभित्र समेत पस्न थालेको छ।

वीरगञ्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाका अनुसार, जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचालन गरिएको छ। डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम तीव्र रूपमा भइरहेको जानकारी पनि उनले दिएका छन्।

यसरी अविरल वर्षाका कारण सिर्जित समस्याले जनजीवन कष्टकर बनेको छ भने विभिन्न ठाँउका सडकहरू पुनः सञ्चालनमा ल्याउन सरोकारवालाहरू लागिपरेका छन्।

Back to top