×

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ५ को कार्यालयले किसानहरुलाई ५० प्रतिशत अनुदानमा स्प्रे ट्यांकी वितरण गरेको छ। शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी वडा नम्बर ५ कार्यालय, बकुलियामा १७५ थान स्प्रे ट्यांकी वितरण गरिएको हो।

वडा नम्बर ५ को कार्यालयले वडा स्तरीय बिनियोजित ७ लाख बजेटबाट किसानलाई मोटर र स्प्रे ट्यांकी वितरण गरेको हो। वडाध्यक्ष दिपेन्द्र चौधरीले शुक्रबार १७५ थान स्प्रे ट्यांकी किसानलाई वितरण गरेका छन्।

यसअघि पनि वडा नम्बर ५ को कार्यालयले कृषिलाई विशेष प्राथमिकतामा राख्दै किसानहरुलाई ५० प्रतिशत अनुदानमा सिचाईको लागि मोटर उपलब्ध गराएको थियो। कृषि क्षेत्रमा सबैको पहुँच पुर्याउने उद्देश्यले वडाले किसानलाई अनुदानमा मोटर र स्प्रे ट्यांकी वितरण गर्न सुरु गरेको हो।

वडाभरीबाट प्राप्त निवेदनका आधारमा कृषक समूह, सहकारी र कृषकहरुलाई मोटर र स्प्रे ट्यांकी वितरण गरिएको वडा कार्यालयले जनाएको छ। स्प्रे ट्यांकी वितरण कार्यक्रममा वडाध्यक्ष दिपेन्द्र चौधरीले कृषिमा व्यावसायिकता एवम् कृषि उत्पादन बढाएर आर्थिक उपार्जन गर्न उक्त सामग्री वितरण गरिएको बताए। उनले कृषि उत्पादन वृद्धिका लागि आधुनिक सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गरे।

वडाध्यक्ष चौधरीले वितरण गर्न बाँकी रहेको स्प्रे ट्यांकी र मोटर आईतबार वितरण गरिने जानकारी दिए। कार्यक्रममा वडा सदस्य बिमला देवी शर्मा, इन्दल पासवान लगायत किसानहरुको सहभागिता रहेको थियो।

Back to top