×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० लालपर्सामा जनता नापजोख भएको जग्गाको लालपुर्जा लिन ढिलाइ गरिरहेका छन्। स्थानीय करको भाग मुख्य कारण रहेको बुझिएको छ। लालपर्साका साबिक नौवटा वडामध्ये साबिक १ र २ मा पहिले नै जग्गा दर्ता गरी पुर्जा वितरण भइसकेको छ भने अहिले ३, ५, ६, ७, ८, ९ नम्बर वडाको दर्ता पुर्जा बनाउन सूचना प्रकाशन भए तापनि निवेदन नै दर्ता नभएको तीन नम्बर टोली प्रमुख रामप्रमोद राउतले जानकारी गराएका छन्।

उनका अनुसार, स्थानीय सरकार अर्थात् वडा कार्यालयबाट अनिवार्यरूपमा सिफारिश लिनुपर्ने व्यवस्था छ। सिफारिश लिन जाँदा चर्को शुल्क तिर्नुपर्ने हुँदा वडावासीहरू पुर्जा बनाउनतर्फ उदासीन देखिएका छन्। नापी कार्यालय, पर्साका प्राविधिकहरूले पनि यही कुरा दोहोर्‍याएका छन्।

लालपर्साका स्थानीय रामबालकप्रसाद यादवले २६ धुर जग्गाको सिफारिश गराउन रु ३१ हजार ५६२ महानगरपालिकाको अन्य शीर्षकमा दस्तुर बुझाउनुपरेको बताएका छन्। यसरी सवा कट्ठा जग्गाको पुर्जा उठाउन साढे ३१ हजार कर तिर्नुपर्दा अधिकांश वडावासी कर तिर्नुपर्ने डरका कारण सिफारिश गराइरहेका छैनन्।

सिफारिश नहुँदा उनीहरू नापी कार्यालय, पर्सामा निवेदन दिन पनि नआउने गरेको पर्साका प्रमुख नापी अधिकृत राकेशकुमार झाले बताएका छन्। हालसम्म १० वटा निवेदन परेकामा चार पाँच जनाले पुर्जा बनाएका छन् भने छरसात जनाको काम प्रक्रियामा रहेको जानकारी दिएका छन्।

लालपर्साका जनता महानगरपालिकाको सिफारिश दस्तुर पहिलेका १६ वटा वडालाई मध्यनजर गर्दै तोकिएकाले ग्रामीण भेगका वडाको लागि सो दस्तुर घटाउन माग गरेका छन्।

यसैगरी, नापी कार्यालय, पर्सामा वीरगञ्ज वडा नम्बर १८ भवानीपुर र वीरगञ्ज वडा नम्बर १९ विन्ध्यवासिनीको दर्ता पुर्जा वितरण गर्ने तयारी गरिरहेको जानकारी पनि प्राप्त भएको छ।

Back to top