×

वीरगञ्ज ।

मधेश प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा जनमत नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने निर्णय गरेको छ। मुख्यमन्त्री सतीशकुमार सिंहले शनिबार अनिवार्य रुपमा विश्वासको मत लिनुपर्ने भएको छ। मधेश प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको शनिबारको कार्यसूचीमा बिहान ११ बजे मुख्यमन्त्री सिंहले विश्वासको मत लिने उल्लेख छ।

नेकपा एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोले जनमत नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन्। महतोले भने, “संघीय निर्देशन पनि त्यस्तै आएको छ। संघीय गठबन्धनको निर्देशन प्राप्त नभएसम्म यसै सरकारलाई समर्थन गरिने छ।”

मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी, र नागरिक उन्मुक्ती पार्टी सहभागी छन्। यो सरकारलाई ५५ जना सभासदको समर्थन प्राप्त छ। यसैबीच, नेपाली कांग्रेसले मधेश प्रदेशमा सरकारको नेतृत्व लिन लबिंग सुरु गरेको छ। कांग्रेसका सभासदहरू सरकारको नेतृत्वका लागि संघीय राजधानी काठमाण्डु पुगेका थिए।

नेकपा एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले संघीय गठबन्धनको निर्णय अनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन्। यादवले भने, “संघीय गठबन्धनको निर्णय अनुसार नै प्रदेशमा सरकार बन्ने छ। हालसम्म पार्टीको केन्द्रीय निर्देशन प्राप्त नभएकाले वर्तमान गठबन्धन नै कायम छ।”

संघीय गठबन्धनमा परिवर्तन भई नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धनको सहमति भइसकेको छ। सरकारमा रहेका एमालेका आठ जना मन्त्रीले राजीनामा समेत दिइसकेका छन्। सुदूरपश्चिम प्रदेशमा नेकपा एसको नेतृत्वमा रहेको सरकारबाट एमाले फिर्ता भइसकेको छ र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

मधेश प्रदेशबाहेकका ६ वटा प्रदेशमा कांग्रेस र एमालेको स्पष्ट बहुमत रहेको छ। मधेश प्रदेशमा मधेश केन्द्रित एउटा दलको समर्थन अनिवार्य चाहिन्छ। संघीय गठबन्धनमा समावेश भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि मधेश प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ। जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत नपाउँदा पदमुक्त भएकाले जसपाले मुख्यमन्त्रीमा स्वाभाविक दाबी रहेको छ।

Back to top