×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले कार्यालयमा मर्यादित पोसाक लगाउनुपर्ने बताएका छन् । लुगा च्यातिएको वा टालेको भएपनि लगाउन पाइन्छ, तर हाफ पाइन्ट लगाएर वा छोटो स्कर्ट लगाएर कार्यालयमा आउन नहुने उनको भनाई छ । प्रहरी प्रधान कार्यालयमा पनि हाफ पाइन्ट लगाएर प्रवेश गर्न नदिने गरेको उनले बताए । एसपी ढुङ्गेलकाअनुसार कार्यालयमा चप्पल लगाएर पनि आउन पाइन्छ । 

करिब ६ वर्ष अघि गृहमन्त्रालयले सेवाग्राहीको पोसाक तोक्ने विषयमा छलफल अघि बढाएको भए पनि यो विषय छलफलमै सीमित रह्यो । जिल्ला प्रहरी कार्यालय पर्साले बक्स हाफपाइन्ट लगाएका सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाएको विषयमा यात्रा डेलीसँग कुराकानी गर्दै प्रहरी उपरीक्षक ढुङ्गेलले पोशाकको मापदण्ड नतोकिए पनि बक्स हाफपाइन्टमा आउने सेवाग्राहीलाई प्रवेश निषेध गरेको बताए । उनले भने, ‘कार्यालयको सम्मान गर्नुपर्छ । सभ्य पोसाकमा आउनुपर्छ । फाटेको जिन्स र हाफ पाइन्ट तथा स्कर्टहरु लगाएर कार्यालयमा आउनु सभ्य नागरिकको परिचय हैन ।’ 

झापा जिल्ला प्रशासन कार्यालयले पनि केही समय अघि अनिवार्यरूपमा स्वाभाविक र सभ्य देखिने पोसाक लगाउन सेवाग्राहीलाई आग्रह गर्दै एक सूचना जारी गरेको थियो । यस सूचनामा पुरुषहरूको हकमा हाफ पाइन्ट र महिलाहरूको हकमा मिनी स्कर्ट लगाएर आउनेलाई कार्यालय परिसरमा प्रवेशमा रोक लगाइएको व्यहोरा उल्लेख गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले पनि सेवाग्राहीलाई मर्यादित पोसाकमा आउन सूचना जारी गरेको थियो । मर्यादित पोसाकमा नआउनेलाई प्रवेशमै रोक लगाइने चेतावनीसमेत सूचनामा दिइएको थियो । प्रशासनले कार्यालय परिसरमा सभ्य र मर्यादित पोसाकको मापदण्ड पालन गर्नुपर्ने र यस विषयमा सचेत रहनुपर्ने कुरा औंल्याएको छ।

गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले सभ्य नागरिकले कार्यालयको सम्मान गर्नुपर्ने बताएका छन् । यात्रा डेलीसँगको कुराकानीमा उनले असभ्य र अमर्यादित पोसाक लगाएर कार्यालयमा प्रवेश नगर्नु नै सभ्य नागरिकको परिचय भएको बताए । सेवाग्राहीले कुन पोसाक लगाउने भन्ने विषयमा रोकटोक नभए पनि सभ्य र भड्किलो नदेखिने किसिमको पोसाक लगाउनुपर्ने उनको भनाई छ ।

Back to top