×

वीरगञ्ज । सशस्त्र प्रहरी पर्साद्वारा भन्सार छलिका सामान तथा लागुऔषध बरामद गरिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाहा चोक वरपरको इलाकाबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले रु ५ लाख ६२ हजार बराबरको किराना सामान, कपडा, जुत्ता र जिमका सामानहरू विभिन्न सार्वजनिक सवारी साधनमा लोड गरि ल्याउँदै गरेको अवस्थामा बरामद गरेको छ। यी सामानहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

त्यसैगरी, शंकरआचार्य गेट नजिक रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका दुई युवाहरूलाई शंका लागि चेकजाँच गर्दा लागुऔषध सहित पक्राउ गरिएको छ। गोर्खाका १९ वर्षीय लिखल गुरुङ्ग र वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका १९ वर्षीय बिकी कुमारलाई १९ एम्पुल नोरफिन, १६ एम्पुल डाईजापाम, र १४ एम्पुल फेनारागन सहित पक्राउ गरिएको हो। उनीहरूलाई आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनरुवा पर्सामा बुझाइएको छ।

त्यसै गरी, दुई व्यक्तिले टाउकोमा बोकी भारततर्फ लैजाँदै गरेको रु २८ हजार ६०० बराबरको ७५ किलो अनार र ३० किलो स्याउ समेत बरामद गरिएको छ। यी फलहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौबाट ना ५१ प १०१८ नम्बरको मोटरसाइकलमा लोड गरि ल्याउँदै गरेको रु ४५ हजार बराबरको किराना सामान र रु १ लाख ६० हजार मूल्याङ्कन गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। यी सामानहरू पनि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

 

Back to top