×

वीरगञ्ज । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव समूहले राष्ट्रिय राजनीतिमा देखिएको उथलपुथलबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यादव समूहले मंगलबार एक विज्ञप्ति जारी गर्दै देशका ठुला पार्टीहरू मिलेर लोकतन्त्रलाई कमजोर पार्ने र संविधान संशोधनमार्फत प्राप्त उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेको छ।

विज्ञप्तिमा उल्लेख छ, "सरकार फेरबदल सामान्य कुरा हो तर देशका ठुला पार्टीहरू नै मिलेर लोकतन्त्रलाई कमजोर पार्ने, संविधान संशोधनमार्फत प्राप्त उपलब्धि उल्ट्याउँदै जाने षड्यन्त्र त भइरहेको छैन भन्ने आशंका बढाएको छ।"

यादव समूहले अर्का अध्यक्ष बाबुराम भट्टराई समूहले एकतर्फी महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको केन्द्रीय समितिलाई निर्वाचन आयोगमा अद्यावधि गरेकोमा आपत्ति जनाएको छ। भट्टराई समूहको केन्द्रीय समिति बैठकले यादव समूहलाई कारबाही गरी अद्यावधिका लागि आयोगमा निवेदन दिएको थियो।

यादव समूहले असार १३ गते आयोगमा निवेदन दिँदै भट्टराई समूहको निर्णयलाई अवैधानिक र अराजनीतिक भन्दै रद्द गर्न माग गरेको छ। आवश्यक परे कानुनी उपचारका लागि जान तयार रहेको विज्ञप्तिमा भनिएको छ।

यसैगरी, यादव समूहले माओवादी केन्द्रसँग विगतमा भएको एकताप्रति प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ।

Back to top