×

वीरगञ्ज । नेपाल प्रेस युनियन पर्सा शाखाले सदस्यता विवादको विरोधमा धर्ना दिएको छ । पत्रकार महासंघ पर्सा शाखाको अगाडि प्रेस युनियन पर्साले धर्ना दिएको हो । नेपाल पत्रकार महासंघले विद्यान विपरीत जबरजस्ती निर्वाचन गर्न खोजेपछि प्रेस युनियन केन्द्रीय कार्यालयले आन्दोलन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार धर्नामा उत्रिएको प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहानले जानकारी दिए ।

दुई घण्टा धर्ना कार्यक्रम
प्रेस युनियनले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा धर्ना दिएको हो । धर्ना कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी र निलिमा पौडेल, पर्सा शाखा अध्यक्ष बिजय चौहान, उपाध्यक्षद्वय क्रान्ति साह, अली असगर देवान, सदस्यहरु राहुल गुप्ता, उदय दास थारु लगायतको उपस्थिति रहेको थियो ।

तालाबन्दी र धर्ना
यसअघि, असार १५ गते शनिबार, प्रेस युनियन पर्सा शाखाले पत्रकार महासंघ पर्सा शाखामा तालाबन्दी गरेको थियो । सदस्यता विषयमा महासंघको केन्द्रीय कार्यालयबाट खेलाँची गरिएको र मनपरी भएको भन्दै यस्ता त्रुटिहरुलाई सुधार गर्न प्रेस युनियनले माग गरेको थियो ।

आन्दोलन जारी रहने चेतावनी
प्रेस युनियन पर्साका अध्यक्ष चौहानले त्रुटि नसच्चयाएसम्म आन्दोलन जारी रहने बताएका छन् । महासंघको विधान र प्रक्रिया पालना गरेर सबै संगठनको सर्वसम्मतिमा सदस्यता नामावली प्रकाशन नगरिएसम्म युनियनको आन्दोलन जारी रहने उनले बताए । अध्यक्ष चौहानले सदस्यता विवाद नसुल्झिएसम्म प्रेस युनियनले महासंघको निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिने चेतावनी पनि दिए ।
 

Back to top