×

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह र क्रीएसन नेपालका प्रतिनिधिहरूबीच सोमबार मधेश भवनमा भएको भेटमा मधेश केन्द्रित बहुआयामिक परियोजनाहरूको संचालनका लागि विस्तृत छलफल भएको छ । छलफलका क्रममा मुख्यमन्त्री सिंहले क्रीएसन नेपालले प्रस्ताव गरेका परियोजनाहरू मधेश प्रदेशको विकासका लागि अत्यन्त आवश्यक रहेको बताउँदै प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

मुख्यमन्त्री सिंहले विशेषगरी जलवायु परिवर्तन, प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन, पर्यटन विस्तार र मधेश लगानी सम्मेलन जस्ता तत्काल परिणाम दिन सक्ने परियोजनाहरूको महत्व उल्लेख गरे । साथै, मुख्यमन्त्री सचिवालयका अनुसार छलफलमा मधेश योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले क्रीएसन नेपालले अघि सारेका परियोजनाहरू छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

क्रीएसन नेपालका सचिव सुजाता कोइरालाको नेतृत्वमा आएको चार सदस्यीय टोलीले परियोजनाहरूको विस्तृत प्रस्तुतीकरण गरेका थिए । सुजाता कोइरालाले क्रीएसन नेपाल मधेश सरकारसँग दिगो सहकार्य गरेर परियोजनाहरूको सफल कार्यान्वयन गर्न तत्पर रहेको बताइन् । 

छलफलमा क्रीएसन नेपालद्वारा संचालित ग्रीनशिप्ट परियोजनाका प्रमुख युनिश घिमिरे, क्याप परियोजनाका लिड उज्ज्वल उपाध्याय र मिडिया सल्लाहकार अनन्त अनुराग पनि सहभागी थिए । छलफलमा सहभागीहरूले परियोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक योजनाहरूका बारेमा गहन छलफल गरेका थिए ।

यस छलफलले मधेश प्रदेशमा दीगो विकासका लागि नयाँ आशा र अपेक्षा जागृत गरेको छ । साथै, परियोजनाहरूको सफल कार्यान्वयनले प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने मुख्यमन्त्री सिंहको विश्वास छ ।
 

Back to top