×

युरोकपको प्रिक्वाटरफाइनलमा दुई उपाधि दाबेदार फ्रान्स र बेल्जियम आमनेसामने हुँदैछन्। यी दुई टोलीबीचको खेल जर्मनीको मेरकुर एरिनामा राति पौने १० बजे सुरु हुनेछ।

छिमेकी देश विश्वका दुई हेभिवेट फुटबल टिम हुन्। फिफा फुटबल वरियतामा फ्रान्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन्। यद्यपि यी दुवै टिमले चालु प्रतियोगितामा आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेका छैनन्।

फ्रान्सका कप्तान तथा प्रमुख स्ट्राइकर केलियन एम्बापेले एक गोल मात्र गरेका छन्। त्यो पनि पोल्यान्डविरुद्ध उनले पेनाल्टी मार्फत गोल गरेका हुन्। कतार सम्पन्न विश्वकपमा आठ गोलसहित गोल्डेन बुट जित्ने एम्बापे युरो लयमा देखिएका छैनन्। यस प्रतियोगितामा फ्रान्सको अग्रपङ्क्तिमा खेल्ने शैलीलाई लिएर पनि आलोचना भइरहेको छ।

बेल्जियम समूह चरणको अन्तिम खेलमा युक्रेनसँग गोलरहित बराबरीमा रोकिएर अगाडि बढेको हो। सो खेलमा युक्रेन धेरै पटक जितको नजिक पुगेको थियो तर बेल्जियम भाग्यशाली साबित भयो। पछिल्ला दुई युरोमा दाबेदारका रूपमा पुगे पनि बेल्जियम क्वाटरफाइनलबाटै बिदा भएको थियो। 

फ्रान्स र बेल्जियम सन् २०१८ को विश्वकप सेमिफाइनल र सन् २०२१ मा नेसन्स लिगमा आमनेसामने भएका थिए। दुवै पटक फ्रान्सले जितेको थियो। यी दुईबीच भएको पछिल्ला छ भिडन्तमा बेल्जियमले एक खेल मात्र जितेको छ।  पछिल्लो युरोमा फ्रान्स स्विट्जरल्यान्डसँग टाइब्रेकरमा हारेर अन्तिम १६ बाट बिदा भएको थियो।

आजै राति क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले क्वाटरफाइनलमा स्थान बनाउन स्लोभेनियासँग खेल्ने छ। पोर्चुगलले सुरुका दुई खेलमा चेक गणतन्त्र र टर्कीलाई हराएर यस प्रतियोगितामा राम्रो सुरुआत गरेको थियो।

तर, तेस्रो खेलमा पोर्चुगलले पहिलो रोजाइका केही खेलाडीलाई विश्राम दियो। त्यसको फाइदा उठाउँदै नवप्रवेशी जर्जियाले पोर्चुगललाई २–० ले स्तब्ध पारेको थियो। त्यसैले स्लोभेनियाविरुद्ध खेल्दा पोर्चुगललाईसो हारको दबाब हुने छ।

स्लोभेनिया स्वतन्त्र भएपछि ३२ वर्षमा पहिलो पटक प्रमुख प्रतियोगिताको नकआउट चरण खेल्दै छ।  युरो २०००, विश्वकप २००२ र २०१० मा स्लोभेनिया समूह चरणबाटै बाहिरिएको थियो। स्लोभेनियाले यस पटक तीन बराबरीमा खेलेर उत्कृष्ट तेस्रो टिमका रूपमा नकआउट चरणमा पुगेर इतिहास बनाएको हो।

स्लोभेनियाविरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डो नजरमा हुनेछन्।  यसपाली रोनाल्डो अहिलेसम्म गोलविहीन छन्। फिफा विश्व वरियतामा पोर्चुगल छैटौँ र स्लोभेनिया ५७ औँ स्थानमा छ। 

यद्यपि स्लोभेनियाले पोर्चुगललाई हराइसकेको छ। गत मार्चमा भएको मैत्री खेलमा स्लोभेनियाले पोर्चुगललाई २–० ले हराएको थियो। पछिल्लो एक वर्षमा स्लोभेनियाले १५ खेल खेल्दा मात्र एक खेल हारेको छ। 

Back to top