×

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको अवस्थामा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने बताएका छन्।

काठमाडौंमा आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्। उनले महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले आफूलाई समाजवादी भन्न नमिल्ने बताएका छन्।

राउतले भने, ‘हामी समाजवादका कुरा गर्दछौँ। म महिनाको १५ दिन जति पाँच तारे होटलमा गएर खाना खान्छु भने जहाँ ४३ प्रतिशत जनता गरिबीको रेखामुनी बाँचिरहेका छन् भने म आफूलाई समाजवादी भन्ने की नभन्ने।’

कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने अवस्थामा विदेशमा उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने उनले बताए।

उनले भने, ‘जुन ठाउँमा कर्णालीमा मान्छे बिरामी हुँदा खानाको अभाव छ, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन्, म महंगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउँछु, म समाजवादी हुँ की होइन।’

राउतले नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरु समाजवादी हुन नसक्ने बताए। उनले भने, ‘म एकातिर रोजगारी दिने कुरा गर्दछु, अर्कोतिर कसरी युवालाई विदेश पठाउने भनेर सम्झौता गर्दछु भने म समाजवादी हुँ की होइन। म आफ्ना छोराछोरीलाई महंगो बोर्डिङ स्कुलमा भर्ना गर्दछु, जहाँ अधिकांश विद्यार्थीको स्थिति राम्रो छैन, म समाजवादी हुँ की होइन।’

अध्यक्ष राउतले समाजवादी बन्नका लागि आवश्यक मापदण्ड नेताहरुले पालना गर्न नसकेको बताए।

Back to top