×

उपसभामुख इन्दिरा रानाले सांसदहरु संसद बैठकमा निदाउने गरेकोमा आपत्ति जनाएकी छन्।

आइतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसदहरु बैठकका बेला निदाउने गरेको आफूले देखेको बताइन्। उनले भनेकी छिन् कि आफूले संसदमा फोटो खिच्न नपाए पनि, संसद दिवसको कार्यक्रममा पनि सांसदहरु निदाएको देखेर फोटो र भिडियो खिचेर राखेकी छु।

उनले भनिन्, “संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ मान्यज्युहरू। यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ। अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले।”

सुत्ने बेला नभएको भन्दै, उपसभामुख रानाले सांसदहरुलाई सभामा सुतेर सपना नदेख्न सचेत गराइन्। उनले सांसदहरुले नीति निर्माणमा बढी ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन्।

उनले थपिन्, “सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस्। उठेर हेर्नुस् त कति सुन्दर छ। यि अनुहारहरू फेरि एकछिनमा हामी देख्न पाउँदैनौँ। यि आवाजहरू एकछिनमा हामी सुन्न पाउँदैनौँ। कति बेला हिँड्दा हिँड्दा यि आवाजहरू बन्द हुन्छन् थाहा हुँदैन।“

उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर पनि नभएको भन्दै दुःख व्यक्त गरिन्।

Back to top