×

वीरगञ्ज । राष्ट्रिय धान दिवसको अवसरमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, पर्साले नेपाल प्रौढ संघ (वृद्धाआश्रम) वीरगञ्ज -१६ नगवामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल प्रौढ संघको सहयोग रहेको थियो।

कार्यक्रमको अध्यक्षता शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानकी अध्यक्ष मुना खनालले गरेकी थिइन्, भने वीरगञ्ज महानगर वडा १६ का वडाध्यक्ष परशुराम चौरसिया प्रमुख अतिथि रहेका थिए। बिशिष्ट अतिथिहरुमा नारायणी अस्पतालका पूर्व मेसु डा. विरेन्द्र प्रधान, नेपाल प्रौढ संघका अध्यक्ष नन्द राउत अहिर, समाजसेवी प्रकाश उपाध्याय लगायत अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि चौरसियाले वातावरण संरक्षणमा वृक्षारोपण कार्यक्रमको महत्त्वलाई उजागर गर्दै आयोजक प्रतिष्ठान परिवारलाई धन्यवाद ज्ञापन गरे। उनले समाजका जेष्ठ नागरिकहरूको सेवा र संरक्षणमा आफू सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका बिशिष्ट अतिथि प्रधानले वृद्धाआश्रम स्थापनामा देखाएको सपना साकार भएको देख्दा भावुक बनेको बताए। प्रतिष्ठानका वरिष्ठ सल्लाहकार उपाध्यायले वृक्षारोपणको उद्देश्य प्रकृति संरक्षण रहेको बताउँदै आगामी दिनमा पनि सामाजिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूलाई प्राथमिकता दिने बताए।

अध्यक्ष मुना खनालले सबैलाई रुख रोपेर वातावरण जोगाउन आग्रह गर्दै सहभागीहरूलाई धन्यवाद दिए। कार्यक्रममा सहभागीलाई दही, चिउरा, र आँप खुवाईएको थियो। स्वागत मन्तव्य प्रौढ संघका उपाध्यक्ष अनिल रिजालले गरेका थिए भने कार्यक्रमको सहजीकरण कोषाध्यक्ष श्रवण बहादुर रायमाझिले गरेका थिए।

Back to top