×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा उपप्रमुख इम्तियाज आलमको उपस्थितिमा २१औं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ। यस अवसरमा उपप्रमुख आलमले धान रोपेर कार्यक्रमको उद्घाटन गरे।

महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाद्वारा आयोजित यो दिवस 'धान उत्पादनमा वृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि' नाराका साथ मनाइएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका आलमले उत्कृष्ट कृषकहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरे।

आफ्नो मन्तव्यमा आलमले भने, "नेपाल एक कृषि प्रधान देश हो। धान दिवस कृषकहरूको उत्साहको पर्व हो। कृषकहरूले हर्षोल्लासका साथ यो पर्वलाई देशभरि मनाउने गर्दछन। आज मलाई गर्व महसुस भैरहेको छ कि म पनि धान रोपेर यो पर्वलाई धूमधामका साथ मनाइरहेको छु।" आलमले आफ्नो बाल्यकालको सम्झना गर्दै थपे, "बाल्यकालमा म पनि बुवासँग खेतमा गएर हिलो खेल्थे र धान रोप्ने गर्थें। मेरो खेतमा धान रोप्नेहरूले गीत गाउँथे र एक आपसमा मजाक गर्थे। खेत रोपेर गीत गाउँदै घरमा आउँदा आमाले खानेकुरा दिनुहुन्थ्यो, धेरै रमाइलो हुन्थ्यो। म पनि किसानकै छोरो हुँ।"

वडा २७ का वडा अध्यक्ष हृदयनारायण कुर्मीको अध्यक्षतामा आयोजित यस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, विभिन्न शाखा प्रमुखहरू हरि शंकर राउत, रुपनारायण कुर्मी, प्रतिज्ञा बैध, सुनिल कर्ण, राम कुमार कुशवाहा, रोशनी यादव लगायत स्थानीय वासीहरूको सहभागिता रहेको थियो।

वीरगञ्ज महानगरपालिकाका उपप्रमुखको प्रेस सल्लाहकार महमद सदाबका अनुसार, यो उत्सवले वीरगञ्जका कृषकहरूमा आत्मनिर्भरता र समृद्धिको भावना प्रवर्द्धन गर्न मद्दत पुर्याएको छ। सहभागीहरूले धान रोपेर मात्र होइन, एकआपसमा सशक्तिकरण र एकताको सन्देश पनि आदान-प्रदान गरे।

यसरी राष्ट्रिय धान दिवसको उल्लासपूर्ण वातावरणले वीरगञ्ज महानगरपालिकामा कृषकहरूको उत्साह र एकताको भावना मजबुत भएको छ।

Back to top