×

वीरगञ्ज । वीरगञ्जस्थित रानीसती मन्दिरमा आज नेपाल जनता पार्टी (नेजपा) पर्सा जिल्ला समितिको बैठक सम्पन्न भएको छ। बैठकले ११ बुंदे निर्णय गर्दै संगठन विस्तारदेखि हिन्दू राष्ट्र नेपाल स्थापनासम्मका विभिन्न विषयमा छलफल गर्यो।

बैठकमा संगठन विस्तार, सनातन धर्मको रक्षा, गौ हत्या वा तस्करी रोकथाम, धर्म-परिवर्तन, लवजिहाद, सरकारी र निजी क्षेत्रमा हिन्दू देवी-देवताको फोटोको दुरुपयोग रोक्नका लागि जनजागरण कार्यक्रम गर्ने निर्णय भएको छ।

साथै, स्थानीय निकायमा कोण सभा, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम, प्रशिक्षण कार्यक्रम तथा धार्मिक स्थलको विकासका लागि सरोकारवालाहरूसँग ध्यानाकर्षण गराउने निर्णय भएको छ। छुवाछूत र भेदभावको अन्त्यका लागि जनचेतना फैलाउने र समाजमा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने पनि निर्णय गरियो।

बैठकमा नेताहरूले २०८३/२०८४ सालको स्थानीय निकाय र आम निर्वाचनमा नेजपालाई पर्सा जिल्लाको पहिलो पार्टी बनाउनेमा जोड दिएका थिए। युवाहरुलाई सनातन धर्मको अपमान गर्ने तत्वहरूसँग सामना गर्न जिम्मा दिइएको बताइएको छ। साथै, धार्मिक र सामाजिक कार्यमा रचनात्मक भूमिका निर्वाह गर्न सबै अगुवा नेताहरुलाई निर्देशन दिइएको छ।

बैठकमा केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्य सुरेश साह कानू, अधिवक्ता बिनोद कुर्मी, पिया सिंह, मधेश प्रदेश समिति सदस्य पारस दुबेदी, रामप्रसाद कुर्मी, विभा साह, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाध्यक्ष धीरज साह, सचितानंद गिरी, महामन्त्री नवीन मिश्रा, र अन्य जिल्लास्तरीय सदस्यहरूको उपस्थिति थियो।

बैठकले नेजपा पर्सा जिल्ला समितिका मन्त्री आनन्द सिंह कुर्मीकी स्वर्गीय आमा बिन्दा देवीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो। बिन्दा देवीको असार ८ गते उपचारका क्रममा भरतपुरमा निधन भएको थियो।

Back to top