×

फाईल फोटो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका बजारमा पसल व्यवसाय गर्नेहरूको सङ्ख्या दिन प्रतिदिन घटिरहेको छ। आर्थिक मन्दीका कारण व्यवसाय बन्द गर्नेहरूको सङ्ख्या दैनिक १० को हाराहारीमा रहेको वीरगञ्ज महानगरको राजस्व महाशाखाका प्रमुख मनोज कर्णले बताए।

चालू आर्थिक वर्षमा व्यवसाय करको इजाजत लिनेहरूमा ठूलो गिरावट देखिएको छ। चालू आवमा व्यवसाय करदाता ६ हजार ८०४ रहेकामा केवल २ हजार ५३५ जनाले मात्र कर तिरेका छन् भने ४ हजार २६९ जनाले कर तिर्न बाँकी रहेको कर्णले जानकारी गराए। गत आवमा ६ हजार ८१५ जना व्यवसाय करदाता मध्ये २ हजार ५०४ जनाले मात्र कर चुक्ता गरेका थिए र ४ हजार ३११ जनाले कर तिर्न बाँकी थियो।

कर्णका अनुसार, व्यवसाय बन्द गर्दा आन्तरिक राजस्व कार्यालयमा वीरगञ्ज महानगरको सिफारिशपत्र आवश्यक पर्छ, जसका कारण व्यवसाय बन्द गर्नेहरूको सङ्ख्या बढिरहेको छ। महानगरले व्यवसाय बन्दको लागि सिफारिश गर्दा कम्तीमा एक वर्षको व्यवसाय कर लिएर सिफारिश दिने गरेको उनले बताए।

चालू आवमा ७० हजार ८५१ जना सम्पत्ति करदातामध्ये ३६ हजार ५८६ जनाले मात्र कर तिरेका छन्, भने गत आवमा ६२ हजार ७७७ सम्पत्ति करदातामध्ये २५ हजार ८६६ जनाले मात्र कर तिरेका थिए। करदाताहरूले प्रत्येक वर्ष कर नतिर्ने र केहीले दुई/तीन वर्षको अन्तरमा तिर्ने हुँदा यस्तो स्थिति आएको कर्णले बताए।

घरबहाल करमा पनि चालू आवमा तिर्ने भन्दा तीन गुणा बढी नतिर्नेको सङ्ख्या छ। चालू आवमा ४ हजार ३७६ करदातामध्ये १ हजार २७५ जनाले मात्र घरबहाल कर तिरेका छन्। गत आवमा २ हजार ३८४ घरबहाल करदातामध्ये १ हजार ९०४ जनाले मात्र कर तिरेका थिए भने ४८० जनाले कर तिरेका थिएनन्।

महानगरले चालू आवमा आन्तरिक स्रोत ७५ करोड आकलन गरेकोमा असार मसान्तसम्म ६२–६५ करोड सम्म मात्र सङ्कलन हुने अनुमान गरिएको छ। आगामी आवमा ७९ करोड आन्तरिक राजस्व सङ्कलनको लक्ष्य पनि पूरा हुनेमा आशङ्का छ।

यो आर्थिक मन्दी र करदाताहरूको अवहेलनाले वीरगञ्ज महानगरपालिकामा आर्थिक संकट थप जटिल हुने संकेत देखिएको छ।

Back to top