×

नवौं संस्करणको टी-२० विश्वकपको उपाधीका लागि फाइनलमा आज (शनिबार ) भारत र दक्षिण अफ्रिका भिड्दै छन् । वेस्ट इन्डिजको बारबाडोसमा हुने फाइनल खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजेदेखि सुरु हुनेछ ।

पहिलो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिका भारतलाई पराजित गर्दै इतिहास रच्ने लक्ष्यमा छ । दक्षिण अफ्रिका यो विश्वकपमा अपराजित रहँदै फाइनल पुगेको हो । उसले यसअघि खेलेका आठै खेल जितेको थियो ।

उता, सन् २००७ मा भएको पहिलो संस्करणको उपाधी विजेता भारत पनि दक्षिण अफ्रिकालाई हराउँदै उपाधी जित्ने लक्ष्यमा छ ।सन् २०१३ देखि आइसीसीको कुनै पनि प्रतियोगिता जित्न नसकेको भारत उपाधीको खडेरी तोड्न चाहन्छ । भारत पनि प्रतियोगितामा अपराजित रहेर फाइनलमा पुगेको हो ।

भारतले तेस्रो पटक फाइनल खेल्दैछ । यसअघि सन् २००७ र २०१४ मा भारतले फाइनल खेलेको थियो ।

दक्षिण अफ्रिका सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको पहिलो पटक फाइनल प्रवेश गरेको हो । भारतले भने डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई हराउँदै १० बर्ष पछि फाइनल यात्रा गरेको हो ।

टी-२० क्रिकेटमा दक्षिण अफ्रिका र भारत बीच २६ खेल भएका छन् । जसमध्ये भारतले १४ खेलमा र दक्षिण अफ्रिकाले ११ खेलमा जित हात पारेको छ । एउटा खेलको भने नतिजा आएको थिएन ।

टी-२० विश्वकपमा पनि दक्षिण अफ्रिकामाथि भारतको दबदबा छ । दुवै टोली ६ पटक भिडेका छन् ।जसमा भारतले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले दुई खेल जितेको छ ।

Back to top