×

वीरगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण अर्थात् ननग्रेडिङ (एनजी) ल्याएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ। यस निर्णयसँगै दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षामा सहभागी हुन पाउनेछन्।

यसअघि, केवल दुई विषयसम्म ननग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भनिएको थियो। त्यसअनुसार, एक लाख १५ हजार आठ सय ३४ जना विद्यार्थी मात्र ग्रेडवृद्धि परीक्षाका लागि योग्य भएका थिए। तर, शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सबै एनजी ल्याएका विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रलाई पनि यसअनुसार व्यवस्था गर्न निर्देशन दिइएको छ। यसअघि केन्द्रले लागू गरेको निर्देशिकामा दुई विषयसम्म एनजी ल्याएका विद्यार्थीलाई मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो, तर यो व्यवस्थामा समेत संशोधन हुने भएको छ।

परीक्षा बोर्डले साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने समयतालिका प्रकाशित गरिसकेको छ। मन्त्रालयको यो निर्णयपछि परीक्षाको समयतालिकामा समेत संशोधन गर्ने तयारी भइरहेको छ। साथै, ग्रेडवृद्धिमा सहभागी हुने विद्यार्थीलाई तयारी र आवश्यक कक्षा सञ्चालन गर्न देशभरका विद्यालयलाई निर्देशन दिने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ।

यस वर्षको एसईईमा गणित, विज्ञान, र अंग्रेजी विषयमा सबैभन्दा बढी एनजी आएको छ।

Back to top