×

बारा । राजस्व अनुसन्धान कार्यालय पथलैयाका कर्मचारीहरु सरकारको राजस्व असुली भन्दा आफ्नो गोजीतिर असुलीतर्फ ध्यान केन्द्रित गरेपछि प्रधानमन्त्रीको निजी सचिवालय विवादमा तानिएको छ। प्रधानमन्त्रीका निजी सचिव अर्जुन भण्डारीको आशीर्वाद पाएर अधिकृत रेशम भण्डारीले राजस्व अनुसन्धान कार्यालय पथलैयामा बसेर सिंगो मधेस प्रदेशमा आतंक मच्चाइरहेको उच्च स्रोत बताउँछ।

स्थानीय प्रहरी प्रशासनले नियन्त्रणमा लिएर तस्करीको शंकामा बुझाएका मालसामान सहितका गाडीहरु भण्डारीको थप आय आर्जनको माध्यम बनेको स्रोतको दाबी छ। भण्डारीले नियन्त्रणमा लिएका गाडीहरुको कुनै लगत नै नराखी नजराना बुझेर पठाउने शैलीको कारण राजस्व अनुसन्धान विभाग पनि आजित भएको विभागका एक कर्मचारी बताउँछन्।

जेठ महिनाभित्र सयौँ ट्रक, मिनि ट्रक र पिकअपहरु भण्डारीले रोकेर नजराना बुझेर छोडेको प्रमाण विभागमा पुगेपछि असार २ गते विभागले राजस्व अनुसन्धान कार्यालय पथलैयालाई एक पत्र लेखी छोडेका गाडीहरुको विवरण माग गरेको छ। जेठ २४ गते राति ११:५० बजे नियन्त्रणमा लिएको पिकअप केही मिनेटपछि नजराना बुझाएर क्लिन चिट बोकेर त्यही मितिमा बाहिरिएको पत्रसमेत प्राप्त भएको छ। सो पत्रको बोधार्थ सशस्त्र प्रहरी बलको इकाइ कार्यालय पथलैयामा दिएको उल्लेख गरिएको छ।

कार्यालयभित्र ल्याइसकेको गाडीको बारेमा कुनै लगत खडा गरिएन। ढोकामा बसेको सशस्त्र प्रहरीले बिना पुर्जी गाडी नछोड्ने भएकोले पत्र दिइएको भन्दै बाहिर समात्ने र छोड्ने अन्तहीन श्रृङ्खलाको कुरा गरीसाध्य नभएको स्रोतको दाबी छ। भण्डारीलाई यस कार्यमा कार्यालय प्रमुख प्रेम देवकोटाको मौन समर्थन रहिआएको पनि स्रोत बताउँछ। नासुद्वय आमिर दाहाल र टिका माझीको भरपूर साथ सहयोग रहैकोसमेत स्रोतको दाबी छ।

जितपुर सिमरा औद्योगिक कोरिडोर, स्थानीय साहु महाजन र तस्करहरुलाई थर्काएर मासिक रेशम भण्डारीको टोलीले घटीमा पाँच करोड भन्दा बढी रूपैयाँ मासिक असुलिरहेकोसमेत स्रोत ठोकुवा गर्छ।

साभार : हाम्रा कुराबाट

Back to top