×

स्रोत : फोटो राष्ट्रिय सहारा दैनिकबाट

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय (आईसीपी) परिसरमा तस्करीको बढ्दो क्रियाकलापले स्थानीय प्रशासन र सुरक्षा निकायलाई चुनौती दिइरहेको छ। विगतमा ग्रामीण सिमानाकाबाट राति अवैध सामग्री नेपाल भित्र्याउने तस्करहरु अहिले भन्सार कार्यालय परिसरलाई नै प्रयोग गरेर आफ्ना अवैध धन्धालाई निरन्तरता दिइरहेका छन्।

स्थानीय तस्कर रामाशंकर, सनोज, वृजकिशोर, प्रदिप, रामजाने, र गुड्डुले स्थानीय केरियर (भरिया तस्कर) मार्फत अवैध नाकाहरु प्रयोग गरी भारतबाट नेपालमा कपडा, काजु, हार्डवेयर, मोटरपार्ट्स लगायतका सामग्री भन्सार छली गरेर भित्र्याउने गरेका थिए।

सरकारले सिमा क्षेत्रमा कडा निगरानी राख्न सुरक्षानिकायलाई निर्देशन दिएपछि तस्करहरुले वीरगञ्ज भन्सार परिसरलाई नै तस्करीको सुगम स्थलको रुपमा प्रयोग गर्न थालेका छन्। केही भ्रष्ट भन्सार अधिकारी र राजस्व अनुसन्धान कार्यालय पथलैयाका कर्मचारीको संरक्षणमा तस्करहरुले दैनिक करोडौं राजस्व चुहावट गरिरहेको छ।

भन्सार प्रमुखले नै खुलासा गरे तस्करी
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगाना र प्रमुख प्रशासक डिलाराम पन्थीको निर्देशनमा भन्सार कार्यालयले जांच पास गर्न लागेको चार वटा कपडा लोड पिकअप गाडिहरु नियन्त्रणमा लिएर रिचेक गर्दा भारतीय नम्बरको पिकअप गाडिमा दोब्बर कपडा लोड भएको फेला परेको थियो। भन्सार कार्यालयले उक्त पिकअपमा लोड कपडाको भन्सार महशुलको तेब्बर जरिवाना गरी लगभग ३३ लाख राजस्व असुली गरेको छ।

राजस्व चुहावटको व्यापकता
तस्कर समूहले ठुला मदन, साना मदन, विनोद रोडवेज र अशोक रोडवेज मार्फत विभिन्न क्लियरिंग एजेन्टलाई प्रयोग गरी दर्जनौ ट्याक्टर, पिकअप, ट्रक र मिनी ट्रकबाट दैनिक रुपमा करोडौं राजस्व चुहावट गरी सामान भित्र्याउने गरेको श्रोतको दावी छ।

क्लिन चिट दिने आरोप
राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत प्रेम देवकोटाका विश्वास पात्र अनुसन्धान अधिकृत रेशम भण्डारी नेतृत्वमा रहेको टोलीले बारा जिल्लामा रातारात २० वटा सवारी साधन नियन्त्रणमा लिएर अवैध असुली गरेर क्लिन चिट दिएको घटना हाल चर्चामा छ। यस बारे राजस्व अनुसन्धान विभागले समेत सोधी खोजी गरिरहेको छ।

वीरगञ्ज भन्सार कार्यालयमा भैरहेको यस प्रकारको अवैध क्रियाकलापले सरकारी राजस्वमा व्यापक क्षति पुर्याउँदैछ। तस्करी नियन्त्रणका लागि कडा निगरानी र दण्डात्मक कारबाही आवश्यक रहेको देखिन्छ।

Back to top