×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८ स्थित जिल्ला प्रहरी कार्यालय नजिक रहेको संकल्प लोक सेवा आयोगको तयारी कक्षाहरु पुनः संचालनमा आएका छन्। संचालक अशोक साहका अनुसार, आगलागीले क्षतिग्रस्त भएका कक्षाहरु पुनः संचालनमा ल्याइएको हो।

इन्सच्युट भएकै स्थानमा अर्को भवनमा तत्कालको लागि व्यवस्थापन गरेर सम्पूर्ण कक्षाहरु संचालनमा ल्याइएको साहले वताए। पहिलाको भवन पुनः व्यवस्थापन गर्ने काम समेत सुरु गरिएको उनले जानकारी गराए।

साहले भने, "विद्यार्थी, अभिभावक, ईष्ट मित्र, परिवारका सदस्य तथा आफन्तको सहयोग तथा हौसलाले थप उर्जाको साथ कक्षाहरु पुनः संचालन गरिएको छ।" पुराना सम्पूर्ण कक्षाका साथै नयाँ तयारी कक्षाहरु पनि संचालनमा ल्याइएको उनले जानकारी गराए।

गत असार ६ गते मध्य राति संकल्प लोक सेवामा आगलागी हुँदा केही दिन सम्पूर्ण कक्षाहरु बन्द भएका थिए। आगलागीमा इन्सच्युट भित्र रहेको फर्निचर, कागजात लगायतका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएका थिए। आगलागीले ५० लाख भन्दा बढी क्षति भएको थियो।

आगलागीमा इन्सच्युट भित्र रहेका स्मार्ट बोर्ड ३ वटा, डेस्क बेन्च ७० सेट, ४३ इन्चको टिभि १ वटा, कम्प्युटर ६ वटा, ल्यापटप ३ वटा, प्रिन्टर ४ वटा, प्रोजेक्टर २ वटा, फ्रिज १ वटा, जेनरेटर १ वटा, अफिस टेबल ३ वटा, पंखा ४५ वटा, दराज, कुर्सी लगायतका सामग्री जलेर नष्ट भएका थिए।

संकल्प लोक सेवा आयोगको तयारी कक्षाहरु पुनः संचालनमा आउँदा विद्यार्थी तथा अभिभावकहरु खुसी व्यक्त गरेका छन्।

Back to top