×

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका १३ औं गाउँ सभा सम्पन्न भएको छ। गाउँ सभाबाट आर्थिक बर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष यसवन्त यादवले पढेर सार्वजनिक गर्नुभएको थियो। आर्थिक विधेयक गाउँपालिका उपाध्यक्ष शर्मिला बिस्ट महतोले प्रस्तुत गर्नुभएको थियो।

आर्थिक विधेयक प्रस्तुत गर्दै उपाध्यक्ष महतोले यस आर्थिक बर्षमा आय तर्फ कुल सशर्त अनुदान २१ करोड ६५ लाख ४२ हजार, समपूरक अनुदान १ करोड ५५ लाख, विशेष अनुदान ३० लाख, आन्तरिक स्रोतबाट ९० लाख १४ हजार ४५६, कुल वित्तीय समानिकरण अनुदान ११ करोड ८९ लाख १ हजार, राजस्व बाँडफाँड तर्फ १० करोड ९७ लाख गरि समाजिक सुरक्षा भत्ता बाहेक कुल ४७ करोड २६ लाख ५७ हजार ४५६ तथा समाजिक सुरक्षा भत्ता बापत ११ करोड हुने र व्यय तर्फ जम्मा ५८ करोड २६ लाख ५७ हजार ४५६ रहने लक्ष्य रहेको प्रस्तुत गरियो।

कार्यक्रममा सम्पूर्ण गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू र वडासदस्यहरूको उपस्थिती रहेको थियो। गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा सम्पन्न भएको गाउँसभा प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद रौनियारले जानकारी दिनुभएको हो।

यसैगरी, पर्साको पर्सागढी नगरपालिकाले "समृद्धिको आधार गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार" भन्ने मूल नाराका साथ ११ औं नगर सभा सम्पन्न गरेको छ। नगर सभाबाट पर्सागढीको आर्थिक बर्ष ०८१/०८२ को लागि नीति तथा कार्यक्रम नगर सभा अध्यक्ष तथा नगर प्रमुख गोकर्ण पाठकले पढेर सार्वजनिक गर्नुभएको थियो भने आर्थिक विधेयक नगर उप प्रमुख पूजा चौधरीले प्रस्तुत गर्नुभएको थियो।

आर्थिक विधेयक प्रस्तुत गर्दै उप प्रमुख चौधरीले ५१ करोड ४७ लाख ६५ हजार कुल बजेट प्रस्तुत गर्नुभएको थियो। साथै आर्थिक बर्ष ०८१/०८२ को लागि संघीय सरकारको वित्तीय समानिकरण अनुदान १२ करोड १७ लाख, सशर्त अनुदान १९ करोड ५७ लाख, राजस्व बाँडफाँट १२ करोड १७ लाख, समपूरक अनुदान १ करोड ५० लाख, प्रदेश वित्तीय समानिकरण अनुदान ८८ लाख १५ हजार, प्रदेश सशर्त अनुदान ९५ लाख, प्रदेश राजस्व बाँडफाँट ७० लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख, आन्तरिक आय २ करोड ३ लाख ५० हजार र यस बर्षको अनुमानित मौज्दात १ करोड गरि कुल ५१ करोड ४७ लाख ६५ हजारको बजेट प्रस्तुत भएको हो।

नगर सभा दुई दिनदेखि केही नगरसभा सदस्यहरूको विरोधका कारण हुन सकेको थिएन।  वडा अध्यक्षहरू र नगर प्रमुख बीच भएको बार्ताबाट सहमति भएको हो। आजको नगर सभाको स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत हरिकिसोर प्रसाद चन्द्रबंसीले गर्नुभएको थियो।

Back to top