×

"Whenever I hear anyone arguing for slavery, I feel a strong impulse to see it tried on him personally." Abraham Lincoln 

जाति व्यवस्था हिन्दू समाजको सबैभन्दा प्रमुख विशेषताहरू मध्ये एक मानिदै  आइएको छ, ऐतिहासिक रूपमा मानिसहरूलाई तिनीहरूको कर्म (काम) र धर्म (कर्तव्य) को आधारमा श्रेणीबद्ध समूहहरूमा विभाजन गरिएको थियो ।  

चार मुख्य वर्ण (ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र) र अछूत (दलित) ले परम्परागत जातीय पदानुक्रम गठन गरेको पाईन्छ।  निम्न जाति र दलितहरूले प्रणालीगत उत्पीडन र बहिष्कारको सामना गर्दै यो प्रणाली भेदभावको प्राथमिक स्रोत भएको थियो । समय र मानिसको चेतनाको साथै शिक्षा र विवेकको क्रमिक विकाशसङ्गै यस विरुद्ध विश्वव्यापी आवाजहरु उठदै गए, नेपालपनी यसबाट अछुतो रहन सकेन ।

प्रजातान्त्रिक आन्दोलनका विभिन्न चरणहरु पार गर्दै जादा , जातिय विभेदका विरुद्धमा नेपालमा पनि ठुला ठुला आन्दोलन भए , त्यसमध्ये मावोवादी विद्रोहले यसको नेत्रित्व बुलन्दरुपले लियो जसको पारीणामस्वोरुप ओन्सारी घर्तिमगर देखी , नन्दकिशोर पुन हुँदै सिमान्तक्रित समुहले राज्यका विभिन्न तहमा आफ्नो नेत्रित्वदायी भूमिका खेल्न पाए र २०७२ को संबिधानले जातिय विभेदलाई कानुनीरुपले वर्जित गर्यो । तथापी व्यवहारमा आज पनि ति विभेदहरु समाजमा विद्धमान छन । मनुस्म्रितिको धङधङ्गी आजपर्यन्त समाजमा देखीरहिएको छ । 

गहिरो रूपमा जकडिएर रहेको  जाति व्यवस्थाले कठोर सामाजिक स्तरीकरणको नेतृत्व गरेको पाईन्छ  , जहाँ व्यक्तिको सामाजिक स्थिति, पेशा, र जीवनका अवसरहरू तिनीहरूको जन्मले निर्धारण गरिन्छ। यस स्तरीकरणले भेदभावलाई निरन्तरता दिन्छ, किनकि तल्लो जात र सीमान्तकृत समुदायका मानिसहरूलाई शिक्षा, रोजगारी र सामाजिक गतिशीलतामा पहुँचबाट वञ्चित गरिन्छ।

अन्तरविवाह, वा एक जात भित्र विवाह, एक परम्परागत अभ्यास हो जसले जातीय रेखाहरूको शुद्धता कायम राख्छ भन्ने पुरातन सोच समाजमा कायमै छ ।  यसले सामाजिक पृथकीकरणको नेतृत्व गर्दछ ,  जहाँ समुदायहरू फरक सामाजिक क्षेत्रमा बस्छन्, भेदभाव थप उत्प्रेरित हुन्छ ।  अन्तरजातीय विवाह, बढ्दै गए पनि, अझै पनि उल्लेखनीय प्रतिरोध र क्रुर  सामाजिक कलंकको सामना गर्नु परेको यथार्थ हामीबाट लुकेको छैन । अझ भन्नु पर्दा मधेश प्रदेशमा आज पनि ६० वर्ष अघिकै जस्तो जातिय विभेद गाडीएर बसेको छ । 

नेपाली समाजमा एक जातिले अर्काे जातिलाई हेर्ने र बुझ्ने सामाजिक मनोविज्ञान फरक छ । शिक्षित र सचेत मानिसमा पनि जातीयताको छाप उत्तिकै बलियो छ । चेतना र बुझाइका हिसाबले अलिकति तलमाथि होला, तर जातव्यवस्थाको मनोवैज्ञानिक प्रभाव समाजमा उच्चतम छ ।

सामान्य काम र अवस्थामा पनि यसको प्रयोग भइरहेको हुन्छ । तहगत रूपमै एकअर्कालाई होच्याउने भइरहन्छ । यहाँसम्म कि एउटा अन्तरजातीय वैवाहिक जोडीको बिचमा झैझगडा हुँदा पनि एकले अर्कालाई जातकै आधारमा गालीगलौज गरिरहेका हुन्छन् । जातलाई नै औँला ठड्याइरहेका हुन्छन् । 

हरेक मानिस नाम सोध्दा थरको गहिराइसम्म पुग्न खोज्छन् । चाहे त्यो गाउँघरमा होस् वा अदालतकै कठघरामा किन नहोस्, शिक्षित हुन् या अशिक्षित । सुरुवाती परिचय जातकै वरपर घुमिरहन्छ । निधार र नाक नखुम्च्याउन्जेलसम्म यो क्रम  चल्छ । एउटा विश्वकर्माले कामी र परियारले सार्की, एउटा हरिजन वा महराले चमार र मरिकले डुम नभनुन्जेलसम्म धर पाउँदैनन् ।

बाहुन क्षेत्रीले पनि बाहुन वा क्षेत्री मात्रै भनेर पुग्दैन । बाहुन हो भने कुन बाहुन ? कुमाई हो कि पूर्विया वा जैसी ? क्षेत्री हो भने कुन क्षेत्री हो ? खस क्षेत्री हो कि खत्री क्षेत्री ? यसमा पनि कुन खलक र गोत्रको ? यसरी स्वजातीयभित्रै पनि यो उपक्रम  चल्छ । यो कथित रूपले तहगत छ । विभेदी छ । अमानवीय छ । तर, पनि यो किन टिकिरहेको छ ? जातव्यवस्थाको सामाजिक मनोविज्ञानको प्रभाव मानिसको मस्तिष्कमा कति गहिरोसँग परेको छ,यसै बुझ्न सकिन्छ। 

अघिल्लो वर्ष (२०८०) महिला आयोगको शौचालयमा पुगेर विश्वकर्मा थरकी एक महिलाले विषपान गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । उनले काठमाडौँमै बसेर थापा थरका युवासँग प्रेमविवाह गरी घरजम गरेकी थिइन् । केटा पक्षका अभिभावकले दलित बुहारीलाई घर भित्र्याउन अनिच्छा जाहेर गरेपछि उनीहरूबिच सम्बन्धविच्छेदको लामो र झन्झटिलो अदालती प्रकृया  सुरु भयो ।

त्यसपछि आर्जित भएर उनी विषपान गर्न पुगेकी थिइन् । बाराको फेटा गाउँपालिका–१, त्रिवेणीमा दलित युवासँग प्रेम गरेकै कारण बुवाले आफ्नी १४ वर्षीय छोरीलाई हत्या गरेर टाउको र शरीर फरक फरक ठाउँमा फालेका बीभत्स घटना सार्वजनिक भयो । कैलालीको गोदावरी नगरपालिका–९ का सुरेश विश्वकर्मासँग सरस्वती खड्काले उमेर पुगेरै अन्तरजातीय विवाह गर्नुभयो तर दलितसँग विवाह गरेकै कारण युवती पक्षले घर पसेरै उहाँमाथि निर्घात कुटपिट गर्यो  ।

काभ्रेको भम्लु गाउँपालिका–२, सिमलथलीमा धर्मध्वज भण्डारीले दलितसँग बिहे गरेपछि परिवारको एक श्रद्धा कार्यमा समय दिएर पनि पुरोहित आएनन् । बाजुराको हिमाली गाउँपालिका–३ की गर्भवती महिला निकी  (नाम परिवर्तन) लाई राति घरमै पसेर बलात्कार भएको घटना लिएर आफन्त प्रहरीकहाँ उजुरी दिन पुग्दा उल्टै उनीहरूलाई नै गिरफ्तार गरियो ।

होटलमा पानी छोएकै निहुँमा डोटीका केआईसिंह गाउँपालिका–४ का रमेश भुलमाथि निर्घात कुटपिट भयो । जातकै कारण यस्ता अनगन्ती घटना सार्वजनिक रूपमै र सार्वजनिक ठाउँमै हामी भोग्न अभिशप्त छौँ । गाउँदेखि सहरसम्मको दुरवस्था एउटै छ । गैरदलित युवतीले दलित युवासँग प्रेम गरेकै कारण एउटा सचेत र शिक्षित भनिने परिवार आफ्नै छोरीको निर्मम हत्या गर्न मन्जुर छ ।

घरमै पसेर निर्घात रूपमा कुटपिट गर्ने साहस गर्छन् तर आफूभन्दा तल्लो जात स्विकार्न तयार छैनन् । आफूभन्दा तल्लो जातका छोरी, ज्वाइँ र बुहारी भित्र्याउन  तयार छैनन् । जातव्यवस्थाले कतिसम्म हद नाघिसकेको छ भने यो समाजमा बालविवाह गर्दा कुनै फरक पर्दैन तर छोराछोरीले त्यही विवाह आफैँले रोजेर अन्य जातकासँग गर्दा जातको कठघरामा उभ्याएर हिंसा गरिन्छ।  

आखिर किन यस्ता घटनाहरु आजपर्यन्त समाजमा जरो गाडेर बसेको छ त ? कानुन जती सुकै कडा बनाएपनी कार्यानयन पक्ष जब कमजोर हुन्छ यस्तो सामाजिक कुरितिहरुले हामी डिजिटल युग भनाउदा मानिसहरुलाई जिस्क्याइरहेको हुन्छ । यो हुनुको कारण राज्य बलियो नहुनु हो । राज्य बलियो नहुने कारण क्षण क्षणमा सरकार बदलिने प्रव्रित्ती अर्थात बलियो सरकारको अभाव । २००७ सालदेखी आज सम्म यो देशमा स्थाइ सररकार गठन हुन सकेको छैन । जब सरकार कमजोर हुन्छ , यसले  कडा र क्रुर निर्णय लिनै सक्दैन , अनी ति गरीब , निमुखा र सिमान्तक्रितको आवाज त त्यत्तिकै दमित हुन जान्छ ।   
  

तिनै तहको सरकार, प्रहरी प्रशासन र अदालतमा समेत जात, धर्म,वर्ण र पहुँचकै आधारमा निर्णय हुँदा, अपराधीमाथि कारबाही नहुँदा, अपराधीको संरक्षण हुँदा र उनीहरूको मनोबल बढेकै कारण समाजमा विभेदका घटनामा बढोत्तरी हुँदै गएको छ । कतिसम्म भने एउटा घटना भएको प्रहरीमा उजुरी पर्दा र कानुनी कारबाही नहुँदा वर्ष दिन नपुग्दै एउटै गाउँमा पटक पटक एउटै किसिमको विभेद र हिंसाका घटना दोहोरिएका छन् ।

सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका रामकिशोर महराले  २०८०   भदौ ५ मा, रामेश्वर महराले कात्तिक १२ गते, वडा ११ का रामवरण महराले असोज १६ गते, ब्रह्मपुरी गाउँपालिका–६ का रामाशिष महराले साउन ३० गते, मलङ्गवा नगरपालिका–१२, गमहरियाका लिलमदेवी पासवानले साउन ३० गते प्रहरीमा उजुरी दिएका छन् ।

उनीहरूमाथिको यो घटना एकपछि अर्को शृङ्खलाबद्ध रूपमा भएका घटना हुन् । तर, यतिका वर्ष हुँदा पनि अपराधीमाथि कुनै किसिमको कानुनी कारबाही भएको छैन । पीडितहरूले न्याय पाएका छैनन् । अपराधीहरूको मनोबल झन् बढेको पीडितहरूको भनाइ छ।  

परम्परादेखि चलिआएको जातव्यवस्थामा आधारित समाजमा हरेक निर्णय र व्रिmयाकलाप जातकै आधारमा हुनु र गर्नु एकप्रकारले स्वाभाविक मानिएला तर प्रहरी प्रशासन तथा अदालतमै पुगेका घटना पनि सोही आधारमा विचाराधीन र तजबिज हुन पुग्नु कत्तिको न्यायसङ्गत हुन्छ ? यिनै कृयाकलापले  गर्दा सर्वसाधारणको कानुनी राज्यप्रतिको विश्वास खस्किँदै गएको छ ।

कतिसम्म भने उजुरी दिने नयाँ पीडितको सङ्ख्या पनि घट्दै गएको छ । विकल्प नहुँदा कानुनी राज्यको उपहास हुने गरी गाउँघरमै मिल्नुपर्ने सर्वसाधारणको बाध्यात्मक स्थिति छ । स्थानीय सरकारमा समेत विभेदकारी वर्गकै वर्चस्वका कारण यथास्थितिमै समाजमै मिलेर बस्नुपर्ने मनोवैज्ञानिक प्रभाव बलियो हुँदै गएको छ। यसले गर्दा अधिकांश घटना गाउँमै दण्ड जरिबाना गर्ने, गराउने, दबाउने र लेनदेनमा टुङ्गिइरहेका छन् । यसरी आजको विकसित युगमा पनि जातकै आधारमा न्याय छनोटमा पर्नु यो कस्तो खालको लोकतान्त्रिक अभ्यास हो ? 
  

देशमा जातव्यवस्था निकै संवेदनशील विषय बन्न पुगेको छ । जातव्यवस्थालाई मजबुत गर्न बलिया जातिहरूले स्वजातीय सङ्गठन र सञ्जाल निर्माण गरेर धर्मशालादेखि मठमन्दिर र पाटीपौवा जस्तो भौतिक संरचनासमेत निर्माण गरिरहेका छन् । यसको सिको कमजोर जाति र वर्गहरूले समेत गर्न थालेका छन् ।

जातजस्तो संवेदनशील विषयमा हुने र गरिने बहस तथ्य र तर्कमा आधारित र गम्भीर प्रकृतिको हुनुपर्ने हो तर यहाँ जातका नाममा अनेकाँै भ्रम छर्ने प्रयत्न भइरहेको छ । कतिपयले यसलाई मानवीय एकताविरुद्धको रूपमा लिइरहेका छन् भने कतिपयले जातीय स्वतन्त्रताका रूपमा बुझिरहेका छन् । प्रत्यक्ष परोक्ष रूपमा नयाँ संविधानले पनि जातीय व्यवस्थालाई नै सबलीकरण गरेको छ । 


देशमा विभिन्न स्वरूपमा रहेका निरङ्कुश व्यवस्था र प्रथाहरूको अन्त्य विभिन्न कालखण्डमा हुँदै आएको छ । यसै समाजमा अत्यन्त अमानवीय र चरम रूपमा रहेको सतीप्रथा जस्तो कुप्रथासमेत अन्त्य भएको इतिहास छ तर सतीप्रथा जत्तिकै घातक रूपमा रहेको जातव्यवस्थाको अन्त्य किन हुन सकिरहेको छैन ?

लिच्छवि, मल्ल,राणा, शाह र पञ्चायतकाल हुँदै अहिलेको लोकतान्त्रिक व्यवस्थामा पनि किन यसले लगभग उसै गरी निरन्तरता पाइरहेको छ ? यो जातव्यवस्थाको सामाजिक मनोविज्ञानको प्रभाव कहिलेसम्म पुस्तान्तरण भइरहने हो ? राज्य, राजनीतिक दल र समाजका सचेत बौद्धिक वर्गले यसविरुद्ध सङ्गठित रूपमै एउटा संयुक्त अभियानको थालनी कहिलेदेखि गर्ने हो ? समाजमा रहेको मानवताविरोधी निकृष्ट जातीय कुप्रथा निर्मूल पार्न विलम्ब नगरौँ । 

अन्त्यमा, 
हाम्रो पुर्विय सभ्यतालाई वर्षौ सम्म पश्चिमा मुलुकहरुले शासन गर्ने धेरै कारणहरु मध्ये आपसी  जातिय विभेद पनि एक हो । जात जातमा लडाईं गराइदिए र आफुले शासन गरे । आज पनि हामी त्यस जातियताको धङधङ्गी र उन्मादबाट बाहिर निस्कन सकेका छैनौ । संसारमा दुई वटा मात्रा जात छन - एक महिला र अर्को पुरुष ।    
 
"Caste is a notion; it is a state of the mind. The destruction of caste does not therefore mean the destruction of a physical barrier. It means a notional change." Dr. B.R. Ambedkar  

लेखक ज्ञानदा एकेडेमिका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।

Back to top