×

बारा । जीतपुरसिमरा उपमहानगर–१८ का जितेन्द्र चौधरीलाई ब्लक र ईन्टरलक इट्टा बनाउने कामले यतिबेला भ्याईनभ्याइ छ । जीतपुर सिमरा उपमहानगरले दिएको सीपमूलक तालिमपछि चौधरीलाई आफ्नै व्यवसाय सुरु गरेका हुन् ।

ईन्टरलक इट्टा बनाउने काममा उनले परिवारका सदस्यसँगै अन्य ५-६ जनालाई रोजगारीमा जोडेका छन् । उपमहानगरले गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एक साताको तालिमपछि चौधरीले आफ्नै उद्योग सुरु गरेका हुन् । 

अरूको हार्डवेयर पसलमा काम गरेर परिवारको दैनिक गुजारा चलाउने चौधरीलाई तालिमपछि आफ्नै व्यवसायबाट राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

उपमहानगरको प्राविधिक र उपकरणको सहयोग पाएर सुरु गरेको व्यवसायबाट उनले मासिक सबै खर्च घटाएर ४० देखि ५० हजार बचाउँछन् । ‘पहिल्यै देखि नै मेरो मानसिकता थियो सानो घरेलु उद्योग खोल्ने, पछि  उपमहानगरबाट तालिम पाएर धेरै फाइदा भयो’ चौधरीले भने  ‘तालिम लिने बित्तिकै उद्योग सञ्चालन गरे अहिले घरपरिवारसँगै ५-६ जनालाई रोजगारी दिएको छु ।’

ईन्टरलक ईटा र ब्लक स्थानिय बजारमा नै बिक्री हुने गरेको उनको भनाई छ । ‘सुरुमा अलि गाह्रै थियो, ईन्टरलक इट्टाको खासै मार्केट नभएकोले समस्या भएपनि अहिले धेरै राम्रो छ’ चौधरीले भने ।

ईन्टरलक इट्टा घर तथा कमाउण्ड निर्माणमा प्रयोग हुन्छ । यो अन्य इट्टाको तुलनामा ३० प्रतिशत कम खर्चिलो, प्लास्टर गर्न नपर्ने र जाडो र गर्मीमा कोठाको तापक्रम सन्तुलन राख्ने भएकाले वातावरण मैत्री मानिन्छ ।  

जीतपुर सिमरा उपमहानगर, गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रममा सहजकर्ता दिपनारायण रायले तालिमपछि चौधरीले सुरु गरेको व्यवसायको प्रचारप्रसार तथा बजार व्यवस्थापनमा उपमहानगरले सहयोग गर्दै आएको बताए । 

‘हामीले  ठाउँ ठाउँमा लगेर प्रचारप्रसार गरिदिने, हार्डवेयर पसलमा नमुना सामानहरू राखिदिने र प्राविधिक मार्फत ईन्टरलक इट्टा प्रयोग गर्दा हुने फाइदाको विषयमा सहयोग गरेका छौँ’ कार्यक्रम सहजकर्ता रायले भने । 

उपमहानगरले गत वर्षदेखि नयाँ उद्यमी उत्पादन गर्ने र भइरहेका उद्यमीहरूको स्तरोन्नति गर्ने उद्देश्यले सङ्घीय सरकारको शसर्त अनुदानमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

जसअन्तर्गत गतवर्ष लघु उद्यम विकास कार्यक्रम अन्तर्गत २१ लाख ६० हजार बजेटबाट ६५ देखि ७० जना नयाँ उद्यमी सिर्जना गरेको उपमहानगरले जनाएको छ । 

चालु आर्थिक वर्षमा भने यो कार्यक्रमको लागि उपमहानगरले २१ लाख र सङ्घीय सरकारको शसर्त अनुदान अन्तर्गत ८ लाख ६० हजार बजेटबाट पशुपालन, तरकारी खेती, केरा खेती, विद्यालयहरूमा स्कुल ब्याग तथा झोला बनाउने तालिमहरू सञ्चालन भइहरेको छ । 

कार्यक्रम सहजकर्ता रायले गत वर्ष तालिम लिएकाहरूलाई क्षमता अभिवृद्धि र चालु आर्थिक वर्षमा १५० जना नयाँ उद्यमी उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । 

उपमहानगरले बिशेषगरी ग्रामीण भेगका वडाहरूमा पशुपालन तथा कृषि सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आएको छ ।

Back to top