×

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल प्रशासनले अस्पतालमा शय्याअनुसार कर्मचारी दरबन्दी वृद्धि गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवसँग अनुरोध गरेको छ । 

आज अस्पताल अनुगमन तथा निरीक्षणका लागि आएका मन्त्री यादवलाई नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा एनामुल हकले श्यया सङ्ख्या तीन सय ५० भए पनि कर्मचारी दरबन्दी एक सय शय्या बराबरको हुँदा उपचार सेवा प्रदानमा कठिनाइ भएको गुनासो गरे । 

“अस्पताल तीन सय ५० शय्यामा स्तरोन्नति भएको वर्षौं बितिसक्दा पनि कर्मचारी दरबन्दी एक सय श्ययाअनुसार नै छ”, उनले भने, “जनशक्ति अभावका कारण अपेक्षित सेवा प्रवाह गर्न सकिरहेका छैनौँ । शय्याअनुसार दरबन्दी कायम गर्न जरुरी छ । अर्काेतर्फ  क्वाटर, मेसिनरी र अन्य पूर्वाधारको उस्तै जटिल छ ।”  

मेसु हकले अस्पतालसँग सम्बन्धित विवाद लामो समयदेखि सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले पनि विभिन्न खालका उल्झन आइरहेको गुनासो गरे।  मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रको रुपमा रहेको नारायणी अस्पताललाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाए । 

मन्त्री यादवले अस्पतालका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको बताए । “मैले समग्र देशकै स्वास्थ्य क्षेत्र सुधार ल्याउने गरी काम थालिसकेको छु”, उनले भने, “त्यसैको सिलसिलामा पूर्वस्वास्थ्यमन्त्री तथा विज्ञहरुलाई भेटेर आवश्यक रायसुझाव पनि लिएको छु ।’’ उनले नारायणी अस्पतालको ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै बिरामी तथा कुरुवासँग कुराकानी गरेका थिए । 

अस्पतालमा उपचाररत बिरामीले अस्पतालको फार्मेसीमा पर्याप्त औषधि नभएको, ओपिडी टिकट काट्ने काउन्टरमा भीडभाड रहेको, र चिकित्सकले ओपिडीमा पर्याप्त समय नदिएकोलगायतका गुनासो मन्त्रीसक्षम राखेका थिए । 

Back to top