×

वीरगञ्ज । भारतसंग सीमा जोडिएको पर्साको जगरनाथपुर गाँउपालिकाको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर १ बिसनपुर्वाबाट भारत बिहारको नगरदेही जाने बाटो छेउकोे नेपाल तर्फ पर्ने ओरिया खोलास्थित दशगजा क्षेत्रमै मंगलबार बिहान पहिचान खुल्न नसकेका दुई पुरुषको शव भेटिएको हो ।

दशगजा क्षेत्रमा पर्ने ओरिया खोलामा रहेको ४२१-५ नम्बरको सीमा पिल्लर नजिकै बालुवामा गाडिएको अवस्थामा अन्दाजी ३५ - ४० बर्ष उमेरको जस्तो देखिने दुई पुरुषको शव भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
मंगलबार बिहान ७ बजेतिर दशगजा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा गाडिएको अवस्थामा ती दुवै शव भेटिएको हो ।

शव भेटिएको स्थल नेपाल तर्फको भूभाग रहेको भन्दै भारतीले पहिचान भने खुल्न नसकेको बताए । गाडिएको शव निकालेर पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको भारतीले जानकारी दिए । उनले भने,‘ दुवै शवको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । त्यसका लागि प्रहरीले प्रयास गरिरहेको छ ।’

Back to top