×

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले दुई वर्षको कार्यकालमा विकास निर्माणका कामसँगै सीमान्तकृत र अल्पसङ्ख्यक समुदायको सशक्तीकरणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । 

मङ्गलवार  सृजनशील महिला विकास केन्द्र पर्साको सहजिकरणमा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा आएका गुनासा र सुझावहरूलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले उपलब्ध बजेट र साधन श्रोतको भरपुर उपयोग गरेर विकास निर्माणका कामहरू गरिरहेको बताए ।यससँगै खागसरि समाजमा पिछडिएका महिला, दलित, अल्पसङ्ख्यक समुदायलाई सिपमूलक तालिम प्रदान गर्दै उनीहरूको आर्थिक जीवनस्तर  उकास्ने काम गरिरहेको पनि उनले बताए । 

अध्यक्ष चौधरीले भने, ‘सडक, नाला, विद्यालय भवन, स्वास्थ्य चौकी लगायतको काम त भइनै रहेका छन् । यसका साथै खागसरि महिलाहरूलाई दुना टपरी, सर्फ, साबुन, ढकिया बनाउने तालिम दिनुका साथै ती सामान बनाउने मेसिनहरू पनि दिँदै आएका छौँ । उनीहरूलाई तालिम दिने मात्रै होइन , नमुना उद्यमी बनाउने काम पनि गाउँपालिकाले गरिरहेको छ ।

अहिलेसम्मको दुई वर्षे कार्यकालमा पर्याप्त बजेटको अभावमा जनताले अपेक्षा गरे अनुसारका विकास निर्माणका काम हुन नसके पनि प्राप्त बजेट र साधन श्रोतको भने भरपुर उपयोग गरेर सम्भव भ्याएसम्मको काम गरिरहेको बताए । आगामी दिनमा नागरिकको अपेक्षा पुरा गर्न आफूले हर सम्भव प्रयास गरिरहने पनि उनले बताए । 

अध्यक्ष चौधरीले पटेर्वासुगौली गाउँपालिकालाई लागूऔषध मुक्त गाउँपालिका बनाउन आफूहरू लागि परेको जानकारी पनि गराए । उनले लागु औषध नियन्त्रणको लागि गाउँपालिकाबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको भन्दै त्यसलाई पूर्ण रूपले नियन्त्रण गर्न गाउँपालिका लागि परेको बताए ।

अध्यक्ष चौधरीले मधेस प्रदेशमै पहिलो गाउँपालिकाका रूपमा पटेर्वा सुगौली गाउँपालिकाले १० शय्याको अस्पताल छिट्टै सञ्चालनमा ल्याउन लागेका पनि बताए । गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी गराए । 

गाउँपालिका उपाध्यक्ष ममता महतोले पालिकाले गरेका विकास निर्माण, सामाजिक सशक्तीकरण लगायतका कामहरूको जानकारी गराउँदै पालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएको बताइन् । किसानहरूलाई कृषि उपकरण, बीउ बिजन वितरणदेखि उनीहरूका उत्पादनको बजार व्यवस्थापनका काम  पालिकाले गर्दै आइरहेको भन्दै उनले अगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा कृषि क्षेत्रलाई अझ धेरै प्राथमिकता दिइने बताइन् । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी पालिकाका नागरिकले केही वडामा सडक र नालाको दुरावस्थाले समस्या भोग्नु परिरहेको ,पोलमा बत्ती बिग्रिँदा पनि समयमा मर्मत नगरिएको, वडाका जनप्रतिनिधिहरूले आफूहरूको गुनासो सम्बोधन गर्न ढिलासुस्ती गर्ने गरेको लगायतका गुनासा राखेका थिए । 

कार्यक्रममा सृजनशील महिला विकास केन्द्र पर्साले ज्येष्ठको दोस्रो साता पालिकाका पाँचै वटा वडामा पुगेर सेवाग्राहीसँग सङ्कलन गरेका गुनासो र सुझावसहितको प्रतिवेदन सार्वजनिक गरिएको थियो । 

गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पाँचै वटा वडाका वडाध्यक्षहरू वडाध्यक्ष विजय गैरे, बासु पंजियार, माधो राउत थारु, विपिन मुखिया,गाउँ कार्यपालिका सदस्य, गाउँसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी वरिष्ठ नायब निरीक्षक बाबुराम ढकालका साथै सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो ।

Back to top